काठमाडौं । रणवीर सिंहलाई भारतीय फिल्म उद्योगका प्राविधिक तथा कर्मचारीहरूको छाता संगठन पश्चिम भारत चलचित्र कर्मचारी महासंघले प्रतिबन्ध लगाएको जनाएको छ। महासंघले सोमबार विज्ञप्ति जारी गर्दै अभिनेता रणवीरविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएको हो।
यो विवादको केन्द्रमा रहेको फिल्म हो डन ३ । फिल्मका निर्माता तथा निर्देशक फरहान अख्तरले केही साताअघि महासंघमा रणवीरविरुद्ध औपचारिक उजुरी दर्ता गराएका थिए। फरहानका अनुसार रणवीरले फिल्मबाट अचानक हात झिक्दा निर्माण पक्षलाई ठूलो आर्थिक क्षति पुगेको छ।
बताइएअनुसार फिल्म धुरन्धर सफल भएपछि रणवीरले ‘डन ३’बाट बाहिरिने निर्णय गरेका थिए। त्यसपछि फरहानले ४५ करोड भारतीय रुपैयाँ क्षतिपूर्तिको माग गर्दै विभिन्न निकायमा उजुरी दिएका हुन्।
महासंघका अध्यक्षका अनुसार रणवीरलाई २२ अप्रिल, ३० अप्रिल र १३ मे २०२६ मा छलफलका लागि तीनपटक स्मरणपत्र पठाइएको थियो। तर, रणवीर पक्षले महासंघ यो विवाद समाधान गर्ने उपयुक्त मञ्च नभएको जवाफ दिएको बताइएको छ। रणवीरको तर्कअनुसार यस्तो विषय कानुनी प्रक्रिया वा अदालतमार्फत समाधान हुनुपर्ने हो।
आमिर खानले दुवै पक्षबीच विवाद मिलाउन मध्यस्थताको प्रयास गरेका थिए। साथै प्रोड्युसर्स गिल्ड अफ इन्डियाले पनि मिलापत्रका लागि समय दिएको थियो। तर, सहमति हुन नसकेपछि रणवीर र फरहानबीचको विवाद अझै गहिरिँदै गएको देखिएको छ।
सन् २०२३ मा फरहानले रणवीरलाई मुख्य भूमिकामा लिएर ‘डन ३’को घोषणा गरेका थिए। तर, परियोजनाबाट रणवीर बाहिरिएपछि फिल्मको निर्माण प्रक्रिया अन्योलमा परेको बताइएको छ।