काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को पहिलो क्वालिफायर खेल आज साँझ गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) बीच हुने भएको छ।
नेपाली समयअनुसार साँझ ७:४५ बजे धर्मशालामा हुने यो खेल फाइनल प्रवेशका दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिएको छ। यस खेलमा जित निकाल्ने टोली सिधै आईपीएल-२०२६ को फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नुपर्नेछ।
तालिकाको शीर्ष स्थानमा रहेको आरसीबी उत्कृष्ट लयमा रहेको छ। टोलीले प्रतियोगिताभर स्थिर प्रदर्शन गर्दै उपाधि लक्ष्यतर्फ बलियो दाबेदारी प्रस्तुत गरेको छ। ब्याटिङ र बलिङ दुवै पक्षमा सन्तुलित देखिएको आरसीबीले आफ्नो रणनीति निरन्तरता दिँदै फाइनल यात्रा तय गर्ने लक्ष्य राखेको छ।
यता, सुरुवाती चरणमा संघर्षरत देखिएको गुजरात टाइटन्सले दोस्रो हाफमा शानदार कमब्याक गरेको छ। पछिल्ला ७ खेलमध्ये ६ जित निकाल्दै टोलीले पुनः लय समातेको छ। विशेषगरी बलिङ आक्रमण गुजरातको मुख्य शक्ति बनेको छ, जसले विपक्षी टोलीलाई दबाबमा राख्दै आएको छ।
आरसीबीका लागि प्रमुख ओपनर फिल साल्ट चोटपछि पुनरागमन गर्दै प्लेअफका लागि टोलीमा फर्किएका छन्। उनी उपलब्ध भएमा टिम संयोजनमा केही परिवर्तन आउन सक्ने सम्भावना छ। त्यस्तै, गुजरात टाइटन्सले पनि आफ्नो सन्तुलित प्लेइङ ११ मार्फत खेल जित्ने रणनीति बनाएको छ।
धर्मशालाको पिच र मौसमलाई खेलमा निर्णायक मानिएको छ। घाँसे सतहका कारण सुरुवाती ओभरमा बल रोकिएर आउने र पछि मात्र ब्याटिङ सहज हुने विश्लेषण गरिएको छ। पछिल्लो समय रात्री खेलमा लक्ष्य पछ्याउने टोली सफल हुँदै आएको तथ्यले पनि टसको भूमिका महत्वपूर्ण हुने देखिन्छ। आईपीएल इतिहासमा यी दुई टोलीको हेड-टु-हेड बराबरी ९४-४० रहेको छ। तर प्लेअफ चरणमा पहिलो पटक आमनेसामने हुन लागेकाले आजको भिडन्तलाई थप रोमाञ्चक मानिएको छ।
अब सबैको ध्यान धर्मशालामा केन्द्रित छ - फाइनल प्रवेश गर्ने पहिलो टोली को बन्नेछ भन्ने प्रश्नको जवाफ आज साँझ तय हुनेछ।