काठमाडौं । अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी अभिनीत काजीले प्रदर्शनको पहिलो सातामै दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मलाई दर्शकहरूले मन छुने प्रेमकथा र भावनात्मक प्रस्तुतिका कारण सकारात्मक प्रतिक्रिया दिएका हुन् ।
काठमाडौंका विभिन्न हलमा फिल्म हेरेका दर्शकहरूले सञ्चारकर्मीसँग कुरा गर्दै काजी र कजिनीबीचको सम्बन्ध, साथ र प्रेमले आफूहरूलाई भावुक बनाएको बताएका छन् । एक महिला दर्शकले फिल्मबाट युवापुस्ताले किताब पढेभन्दा बढी जीवनबारे ज्ञान लिन सक्ने प्रतिक्रिया दिएकी छन् । धेरैजसो दर्शकले फिल्मलाई ‘अर्गानिक कथा’ भएको भन्दै सबैले हेर्नुपर्ने फिल्मका रूपमा व्याख्या गरेका छन् ।
फिल्मप्रति दर्शकको सकारात्मक प्रतिक्रियाले कलाकारहरू समेत उत्साहित देखिएका छन् । शनिबार काठमाडौंमा आयोजित विशेष शोमा अभिनेत्री केकी अधिकारीले कजिनी पात्र निभाउन निकै चुनौतीपूर्ण रहेको अनुभव सुनाइन् । अहिलेको समयमा ‘मुना–मदन’ जस्तो निष्ठावान प्रेम दुर्लभ बन्दै गएको अवस्थामा त्यस्तो भावनालाई पर्दामा जीवन्त बनाउन सहज नभएको उनले बताइन् ।
अभिनेता विपिन कार्कीले पनि अहिलेको पुस्ताले राम-सीताजस्तो प्रेम सहजै विश्वास नगर्ने अवस्था भएकाले फिल्मको कथा केही पुरानो समयको परिवेशमा राखिएको बताए । उनले दर्शकलाई प्रेमको गहिराइ र समर्पण महसुस गराउन कथाको ‘टाइमफ्रेम’ अलि पछाडि लगिएको उल्लेख गरे ।
काजी का निर्देशक लक्ष्मण रिजाल हुन् । फिल्ममा विपिन कार्की र केकी अधिकारीसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी लगायत कलाकारहरूको अभिनय रहेको छ ।
प्रदीप भारद्वाज को लेखन तथा रामप्रसाद रिजाल को निर्माण रहेको फिल्मले एक दम्पतीको आदर्श प्रेमकथालाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ ।