काठमाडौं । पाटन दरबार क्षेत्रबाट सुरु भएको ‘वान रन इन्टरनेशनल हाफ म्याराथन’ सम्पन्न भएको छ । जेठ ९ गते विश्वका ३७ भन्दा बढी देशका ११२ भन्दा बढी सहरमा एकैदिन आयोजना गरिएको प्रतियोगिता नेपालमा एनआरएस स्पोर्ट्स फाउन्डेसनले आयोजना गरेको हो ।
म्याराथनमा हाफ म्याराथन, १० किलोमिटर, ५ किलोमिटर तथा १ किलोमिटर विधामा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको रुट मंगलबजार, पुल्चोक, जावलाखेल, सातदोबाटो, बल्खु र कलंकी हुँदै पुनः कृष्ण मन्दिर क्षेत्रमा पुगेर समापन गरिएको थियो ।
आयोजकका अनुसार नेपालसहित बहराइन, बंगलादेश, बेलारुस, ब्राजिल, कतार, चीन, इजिप्ट, भारत, जोर्डन, किर्गिस्तान, मलेसिया, पाकिस्तान, साउदी अरेबिया, सर्बिया, ताजिकिस्तान, चिली, लेबनान, आर्मेनिया, ट्युनिसिया र भेनेजुएलालगायत ३८ भन्दा बढी देशका करिब दुई लाख ५० हजार धावक प्रतियोगितामा सहभागी भएका थिए । नेपालबाट मात्रै १ हजार २ सयभन्दा बढी धावकले सहभागिता जनाएका थिए ।
विश्वव्यापी रूपमा आयोजना हुँदै आएको ‘वान रन इन्टरनेशनल हाफ म्याराथन’ दुई पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत समावेश भइसकेको आयोजकले जनाएको छ ।