काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय तथा व्यावसायिक क्षेत्र दरबारमार्गमा शनिबार १९औँ दरबारमार्ग स्ट्रिट फेस्टिभल आयोजना गरिएको छ। ‘एक्सट्रिम इनर्जी ड्रिङ्क’ को मुख्य प्रायोजनमा आयोजित कार्यक्रमलाई ‘एक्सट्रिम स्याटर्डे’ नाम दिइएको थियो।
दरबारमार्ग विकास बोर्डको पहलमा माभरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्सद्वारा आयोजित महोत्सवमा सबै उमेर समूहका दर्शकका लागि विविध मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएको थियो।
महोत्सवअन्तर्गत बालबालिकाका लागि विभिन्न खेल, ३-३ बास्केटबल, ई-स्पोर्ट्स, सांस्कृतिक झाँकी, कस्प्ले तथा फोटो बुथको व्यवस्था गरिएको थियो। त्यस्तै, विभिन्न स्वादका खाना तथा पेय पदार्थका स्टलले पनि दर्शकको आकर्षण बढाएको थियो।
सांगीतिक कार्यक्रमतर्फ मुख्य तथा सहायक स्टेजमा चर्चित डिजे तथा कलाकारहरूको प्रस्तुति भइरहेको छ। कार्यक्रममा जोन एन्ड द लोकल्स, द एक्स, फोल्कट्रोनिक्स, एसटी म्यान, जे अथर, सालिन मगर लगायतका कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।
महोत्सवले दरबारमार्ग क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढाउनुका साथै काठमाडौंको सांगीतिक र सांस्कृतिक वातावरणलाई थप उत्साहपूर्ण बनाएको आयोजकको भनाइ छ।