काठमाडौं । इंग्ल्यान्ड राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक थोमस टुसेल ले शुक्रबार प्रतियोगिताका लागि अन्तिम टोली सार्वजनिक गरेका हुन्।
जुन १२ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपमा इंग्ल्यान्ड समूह ‘एल’मा परेको छ। उक्त समूहमा इंग्ल्यान्डसँगै क्रोएसिया, घाना र पानामा रहेका छन्। उपाधि दाबेदार मानिएको इंग्ल्यान्डले जुन १७ मा क्रोएसियाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। त्यसपछि टोलीले जुन २३ मा घाना र जुन २७ मा पानामासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।
घोषित टोलीमा कोल पाल्मर, फिल फोडेन, ह्यारी मग्वायर र ट्रेन्ट अलेक्सजेन्डर आर्नोल्ड जस्ता चर्चित खेलाडी समावेश छैनन्। यद्यपि मार्कस रासफोर्ड, इभान टोनी र डान बर्न ले टोलीमा स्थान बनाउन सफल भएका छन्।
इंग्ल्यान्डको टोलीमा गोलरक्षकतर्फ डिन हेन्डरसन, जोर्डन पिकफोर्ड र जेम्स ट्राफोर्ड रहेका छन्। रक्षापंक्तिमा डान बर्न, मार्क गुइही, टिनो लिभ्रामेन्टो, डिजेड स्पेन्स, रीस जेम्स, एज्री कोन्सा, निको ओ’रेली, जोन स्टोन्स र जारेल क्वान्सा समावेश छन्।
मिडफिल्डतर्फ एलियट एन्डरसन, जुड बेलिङघम, एबेरेची एजे, जोर्डन हेन्डरसन, कोबी मिनो, डेक्लान राइस र मोर्गन रोजर्स रहेका छन्। आक्रमण पंक्तिमा एन्थोनी गोर्डन, ह्यारी केन, नोनी माडुके, मार्कस रासफोर्ड, बुकायो साका, इभान टोनी र ओली वाट्किन्स रहेका छन्।