काठमाडौं । एलिफेन्ट्स इन द फग ले विश्वप्रसिद्ध कान्स फिल्म महोत्सवमा ‘जुरी पुरस्कार’ जित्दै नेपाली चलचित्र क्षेत्रका लागि ऐतिहासिक सफलता हासिल गरेको छ। शनिबार बिहान फ्रान्समा आयोजित समापन समारोहमा चलचित्रलाई उक्त सम्मान प्रदान गरिएको हो।
अवार्ड ग्रहण गर्न निर्देशक अनिवाश विक्रम शाह नेपालको राष्ट्रिय झण्डा ओढेर मञ्चमा उक्लिएका थिए। ‘अन सर्टेन रिगार्ड’ विधाअन्तर्गत छनोट भएको चलचित्र गत बिहीबार प्रदर्शन गरिएको थियो।
यस विधाको मुख्य पुरस्कार अस्ट्रियाकी निर्देशक सान्ड्रा वुल्नर को चलचित्र एभ्रिटाइमले प्राप्त गरेको थियो। नेपाली चलचित्रले जितेको ‘जुरी पुरस्कार’ उक्त विधाको दोस्रो ठूलो सम्मान मानिएको छ। कान्स फिल्म महोत्सवमा नेपाली चलचित्रले पहिलो पटक यस्तो प्रतिष्ठित पुरस्कार जितेको हो।
समारोहमा सुनिता डंगोल पनि सहभागी थिइन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यो उपलब्धि केवल एउटा चलचित्रको सफलता नभई सम्पूर्ण नेपाली चलचित्र उद्योगका लागि ऐतिहासिक क्षण भएको बताएकी छन्।
चलचित्र प्रदर्शनपछि अन्तर्राष्ट्रिय चलचित्रकर्मी तथा समीक्षकहरूले सकारात्मक प्रतिक्रिया दिएका थिए। भारतीय निर्देशक तथा कलाकार अनुराग कश्यप ले नेपाली चलचित्रले यसबाट ठूलो फड्को मारेको उल्लेख गरेका छन्। उनले चलचित्रको अन्तिम दृश्यलाई आफूले कान्समा हेरेका उत्कृष्ट दृश्यहरूमध्ये एक भनेका छन्।
प्रतिष्ठित हलिउड पत्रिका भेराइटी ले पनि चलचित्रबारे समीक्षा प्रकाशित गर्दै ट्रान्सजेन्डर समुदायको संवेदनशील कथालाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको उल्लेख गरेको छ। समीक्षामा दक्षिण एसियामा ट्रान्स पहिचानप्रतिको सामाजिक स्वीकृतिको जटिल पक्षलाई निर्देशक शाहले सूक्ष्म रूपमा चित्रण गरेको जनाइएको छ।
निर्देशक शाहकै लेखन तथा निर्देशनमा बनेको यस चलचित्रले जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा प्रस्तुत गरेको छ। चलचित्रमा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ, दिपीका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, सञ्जय गुप्ता दुरा, महिमा नवबाग र आकांक्षा कार्कीलगायत कलाकारहरूको अभिनय रहेको छ।