काठमाडौं । आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कमला मिस’को टिजर सार्वजनिक गरिएको छ । झन्डै दुई मिनेट लामो टिजरले फिल्मको कथावस्तु र भावनात्मक पाटोलाई प्रस्ट रूपमा प्रस्तुत गरेको छ ।
सार्वजनिक टिजरमा आमाबुबाको मायाबाट वञ्चित एक बालकको मनोविज्ञान र त्यसले उसको जीवनमा पार्ने प्रभावलाई केन्द्रमा राखिएको देखिन्छ । फिल्मले बाल मनोविज्ञान, एक्लोपन र भावनात्मक संघर्षलाई संवेदनशील ढंगले चित्रण गर्ने संकेत गरेको छ ।
अभिनेता तथा निर्देशक नीर शाहको निर्देशनमा बनेको फिल्ममा उनी स्वयं मुख्य भूमिकामा रहेका छन् । फिल्ममा रमेश बुढाथोकी, बासना तिमल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, सञ्जय खतिवडा तथा भोला सुवेदी ९आरजे प्रणव० लगायत कलाकारहरूको अभिनय रहेको छ ।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरेको फिल्ममा उमेश मल्ल र चैतन्य प्रधान कार्यकारी निर्माताका रूपमा रहेका छन् । फिल्मको कथा स्वर्गीय साहित्यकार विजय मल्लको हो भने पटकथा तथा संवाद नीर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन् । फिल्ममा शिवराम श्रेष्ठको छायांकन तथा युग भुसालको संगीत रहेको छ ।
‘कमला मिस’मार्फत नीर शाह करिब एक दशकपछि निर्देशनमा फर्किएका हुन् । उनले यसअघि ‘सेतो बाघ’, ‘वासुदेव’, ‘पच्चीस बसन्त’, ‘राजमती’, ‘वसन्ती’ र ‘मसान’जस्ता चर्चित नेपाली फिल्म निर्देशन गरिसकेका छन् ।