काठमाडौं । एलिफेन्ट्स इन द फग को विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा बुधबार विश्व प्रिमियर गरिएको छ। निर्देशक अविनाश विक्रम शाह सहित कलाकारहरू पुष्प थिङ लामा, सहद दिन मिया, जस्मिन विश्वकर्मा, अलिज घिमिरे र चयन अधिकारीले कान्सको रातो कार्पेटमा सहभागिता जनाएका थिए।
चलचित्र प्रदर्शनपछि विश्वभरका चलचित्रकर्मीहरूले यसको खुलेर प्रशंसा गरेका छन्। चर्चित भारतीय निर्देशक तथा अभिनेता अनुराग कश्यप ले चलचित्र मूल्याङ्कन मञ्च ‘लेटरबक्सडी’मार्फत चलचित्रको प्रशंसा गर्दै यसलाई “कान्समा अहिलेसम्म देखेको सबैभन्दा उत्कृष्ट अन्तिम दृश्य भएको चलचित्र” बताएका छन्।
उनले नेपाली चलचित्र क्षेत्रले यो चलचित्रमार्फत ठूलो फड्को मारेको उल्लेख गर्दै ह्वाइट सन, पूजा, सर, कालो पोथी र शाम्बाला पछि निर्देशक अविनाश विक्रम शाहले लेखकबाट उत्कृष्ट निर्देशकका रूपमा आफूलाई स्थापित गरेको प्रतिक्रिया दिएका छन्। अनुरागले चलचित्रकी मुख्य अभिनेत्री पुष्प थिङ लामाको अभिनयको पनि विशेष प्रशंसा गरेका छन्। उनका अनुसार पुष्पाले चलचित्रमार्फत आफूलाई एक शक्तिशाली कलाकारका रूपमा प्रस्तुत गरेकी छन्।
कान्समा प्रिमियर भएसँगै केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि चलचित्रको सकारात्मक समीक्षा गरेका छन्। प्रतिष्ठित भेराइटी ले ट्रान्सजेन्डर समुदायमाथि आधारित संवेदनशील र मनछुने चलचित्र भन्दै समीक्षा प्रकाशित गरेको छ। समीक्षामा दक्षिण एसियामा ट्रान्स पहिचानप्रतिको सामाजिक स्वीकृतिको जटिलतालाई निर्देशक शाहले सूक्ष्म ढंगले प्रस्तुत गरेको उल्लेख गरिएको छ।
एलिफेन्ट्स इन द फग कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा प्रिमियर भएको हो। ट्रान्सजेन्डर शरणार्थीहरूको कथामा आधारित चलचित्रमा जंगलमा हराएकी छोरीको खोजीमा एक आमाले सामना गर्ने संघर्षलाई प्रस्तुत गरिएको छ।
यो चलचित्रले २०८१ सालमा ६ लाख नर्वेजियन क्रोनर बराबरको प्रतिष्ठित ‘सरफन्ड अनुदान’ समेत जितेको थियो।