काठमाडौं । यस वर्ष जेठ २० गते छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन आयोजना हुने भएको छ। समुद्री सतहबाट चार हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरबाट सुरु हुने म्याराथन ४२.१९५ किलोमिटर दूरी पार गर्दै घान्द्रुकमा पुगेर सम्पन्न हुनेछ।
सामान्यतया पदयात्रीले तीन दिन लगाउने यस पदमार्गमा प्रतिस्पर्धी धावकहरूले करिब चार घण्टामै दूरी पार गर्ने अपेक्षा गरिएको छ। अघिल्ला पाँच संस्करणमा विजेता धावकहरूले चार घण्टा १६ मिनेटदेखि चार घण्टा २७ मिनेटभित्र दौड पूरा गरेका थिए।
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका सचिव मिकास गुरुङका अनुसार म्याराथन अन्नपूर्ण आधार शिविरबाट सुरु भएर माछापुच्छ्रे आधार शिविर, बगर देउराली, हिन्कु केभ, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, मेलाँचे, कोम्रोङडाँडा र किम्रोङखोला हुँदै घान्द्रुकमा पुगेर सम्पन्न हुनेछ।
अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७६ वर्ष पुगेको अवसरमा आयोजना गर्न लागिएको यस प्रतियोगितामा स्वदेशी तथा विदेशी धावकहरूको सहभागिता रहने आयोजकले जनाएको छ। हालसम्म १३ जना विदेशी सहित ४० जना धावकले नाम दर्ता गराइसकेका छन्।
यस वर्ष अर्जेन्टिनाका चर्चित धावक पाब्लो उरेटा पनि प्रतियोगितामा सहभागी हुने निश्चित भएको प्रचारप्रसार संयोजक टंकराज अधिकारीले जानकारी दिए। प्रतियोगितामा पुरुष तथा महिलातर्फ प्रथम हुनेले एक लाख ५० हजार रुपैयाँ, द्वितीय हुनेले एक लाख रुपैयाँ र तृतीय हुनेले ७५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।
आयोजकका अनुसार गण्डकी प्रदेशमा अन्नपूर्ण प्रथमसहित विभिन्न अग्ला हिमाल भए पनि हिमाल आरोहण पर्यटनले अपेक्षित गति लिन नसकेको अवस्थामा यस्ता साहसिक गतिविधिले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
अन्नपूर्ण प्रथम हिमाल आरोहणपछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए।