काठमाडौं । सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ विश्व कीर्तिमान रचेका छन्। स्कटल्यान्डविरुद्ध कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई विकेट लिएसँगै उनले सबैभन्दा कम इनिङ्समा १५० विकेट पूरा गर्ने विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।
स्कटल्यान्डका ब्याटर ब्रेन्डन म्याकमुलेनको विकेट लिएपछि मैदानमा उपस्थित दर्शकले लामो ताली बजाउँदै सन्दीपलाई बधाई दिएका थिए। सहकर्मी खेलाडीहरूले पनि मैदानमै उनको सफलताको उत्सव मनाएका थिए। कीर्तिमान बनाएपछि भावुक देखिएका सन्दीपले पिच ढोग्दै आफ्नो खुसी व्यक्त गरे।
७३ एकदिवसीय खेलमै १५० विकेट पूरा गरेका सन्दीपले यसअघिको कीर्तिमान तोडेका हुन्। यो कीर्तिमान यसअघि मिचेल स्टार्क को नाममा थियो। स्टार्कले ७७ खेलमा १५० विकेट पूरा गरेका थिए।
कीर्तिपुरमै ऐतिहासिक उपलब्धि हासिल गरेपछि सन्दीपले घरेलु समर्थकमाझ यस्तो सफलता पाउनु विशेष क्षण भएको बताए। उनले भने, “टीयू क्रिकेट मैदानमा पाइला टेक्दाखेरि नै देशका लागि केही राम्रो गर्ने सपना देखेको थिएँ। राम्रो सोचका साथ अघि बढ्दा सबै कुरा अनुकूल बन्दै जान्छ।” सन्दीपले आफ्नो सफलतालाई सामूहिक प्रयासको परिणामका रूपमा व्याख्या गरेका छन्। उनले टोलीका खेलाडी, प्रशिक्षक, स्टाफ र परिवारको सहयोगबिनाको यात्रा सम्भव नभएको बताए। आगामी दिनमा पनि यस्तै कीर्तिमान कायम गर्ने आशा उनले व्यक्त गरे।
लिग-२ अन्तर्गत जारी शृंखलामा सन्दीपको प्रदर्शन प्रभावशाली रहँदै आएको छ। पछिल्ला सात खेलमा उनले १६ विकेट लिएका छन्। तीमध्ये सात विकेट बोल्डमार्फत तथा तीन विकेट एलबीडब्ल्यूमार्फत प्राप्त गरेका हुन्। लेग स्पिन, गुग्ली र एलबीडब्ल्यूमा विशेष दक्षता राख्ने सन्दीप विपक्षी ब्याटरका लागि लगातार चुनौतीपूर्ण सावित भएका छन्।
नेपालले हाल घरेलु मैदानमा आयोजना गरिरहेको त्रिकोणात्मक शृंखलाहरूमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको छ। ओमान र यूएईविरुद्धको शृंखलामा तीन जित हासिल गरेको नेपालले अमेरिका र स्कटल्यान्डविरुद्धको जारी शृंखलामा पनि सकारात्मक सुरुआत गरेको छ। टोलीको सफलतामा बलिङ विभाग विशेषगरी सन्दीपको भूमिका निर्णायक बनेको छ।
सबैभन्दा छिटो १५० विकेट पूरा गर्ने खेलाडीको सूचीमा सन्दीपपछि मिचेल स्टार्क दोस्रो स्थानमा छन् भने सक्लैन मुस्ताक तेस्रो स्थानमा रहेका छन्। त्यस्तै राशिद खान चौथो तथा मोहम्मद शमी पाँचौँ स्थानमा रहेका छन्।