एजेन्सी । ब्राजिलका स्टार फरवार्ड नेयमारलाई समेट्दै मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले आगामी विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा गरेका छन् । चोटका कारण लामो समय राष्ट्रिय टोलीबाहिर रहेका नेयमारको पुनरागमनलाई ब्राजिलियन फुटबलमा महत्वपूर्ण रूपमा हेरिएको छ ।
३४ वर्षीय नेयमार हाल ब्राजिलियन क्लब सान्तोसबाट खेलिरहेका छन् । उनी ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । उनले राष्ट्रिय टोलीबाट १ सय २८ खेल खेल्दै ७९ गोल गरेका छन् । चोटका कारण उनले सन् २०२३ यता ब्राजिलको राष्ट्रिय टोलीबाट खेल्न पाएका थिएनन् ।
यस पटक टोलीमा समावेश भएसँगै नेयमारले चौथो पटक विश्वकप खेल्ने भएका छन् । उनले यसअघि सन् २०१४, २०१८ र २०२२ को विश्वकपमा पनि ब्राजिलको प्रतिनिधित्व गरेका थिए । इटालियन प्रशिक्षक कार्लो एन्सेलोटीले रियो दि जेनेरियोमा आयोजित कार्यक्रममा टोली घोषणा गरेका हुन् । नेयमारको नाम सार्वजनिक हुँदा उपस्थित समर्थकहरूले उत्साहपूर्वक स्वागत गरेका थिए ।
गत वर्ष ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका ६६ वर्षीय एन्सेलोटीले नेयमारको फिटनेसप्रति आफू विश्वस्त रहेको बताएका छन् । उनले पछिल्लो समय नेयमार निरन्तर खेलिरहेको र शारीरिक रूपमा राम्रो अवस्थामा रहेको उल्लेख गरे । चोटका कारण लिभरपुलका पछिल्ला १० खेल गुमाएका गोलकिपर एलिसन बेकर पनि टोलीमा परेका छन् । त्यस्तै म्यानचेस्टर युनाइटेडका कासेमिरो र मथियस कुन्हा, न्युक्यासल युनाइटेडका ब्रुनो गुइमाराएस, आर्सनलका गाब्रियल तथा ब्रेन्टफोर्डका इगोर थियागो पनि टोलीमा समावेश छन् ।
तर चेल्सीका फरवार्ड जोआओ पेद्रो भने टोलीमा अटाउन सकेनन् । उनले यस सिजन प्रिमियर लिगमा १५ गोल र ५ असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।अन्य प्रमुख खेलाडीहरूमा रियल म्याड्रिडका भिनिसियस जुनियर, बार्सिलोनाका राफिन्हा तथा युवा स्ट्राइकर एन्ड्रिक पनि टोलीमा छन् ।
पाँच पटकको विश्वकप विजेता ब्राजिलले समूह चरणमा जुन १३ मा मोरोक्को, जुन २० मा हैटी र त्यसपछि स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने ४८ टोली सहभागी विश्वकप जुन ११ देखि सुरु हुनेछ । ब्राजिलको टोलीमा गोलकिपरतर्फ एलिसन बेकर, एडर्सन र वेभर्टोन रहेका छन् । डिफेन्डरतर्फ एलेक्स सान्द्रो, डानिलो, लियो पेरेइरा, ब्रेमर, इबानेज, वेस्ली, मार्किन्होस, गाब्रियल र डगलस सान्तोस समावेश छन् ।
मिडफिल्डमा ब्रुनो गुइमाराएस, कासेमिरो, डानिलो सान्तोस, फाबिन्हो र लुकास पाकेटाले स्थान बनाएका छन् । फरवार्डतर्फ एन्ड्रिक, गाब्रियल मार्टिनेली, इगोर थियागो, मथियस कुन्हा, राफिन्हा, भिनिसियस जुनियर, लुइज हेनरिक, नेयमार र रायन रहेका छन् ।