काठमाडौं । विपिन कार्की अभिनीत नयाँ फिल्म काजी जेठ ८ गते प्रदर्शनमा आउने भएको छ। फिल्मको शीर्षक र पात्रको नाम ‘काजी’ भएकाले धेरैले दयाहाङ राई ले कबड्डी मा निभाएको चर्चित पात्रसँग तुलना गरिरहेका छन्। तर विपिन कार्कीले आफ्नो पात्र ‘काजी’ र ‘कबड्डी’को काजीबीच कुनै समानता नरहेको बताएका छन्। उनका अनुसार ‘कबड्डी’मा काजी केवल एउटा नाम भए पनि नयाँ फिल्ममा यो पात्र पारिवारिक ‘लिगेसी’सँग जोडिएको छ।
उनले भने, “दयाहाङ राईले निभाउनुभएको काजी स्थापित पात्र हो। तर मैले निभाएको काजी फरक छ। यो पात्रको आफ्नै पृष्ठभूमि र भावनात्मक संसार छ। नाम मिल्नु संयोग मात्र हो।” विपिनले आफ्नो अघिल्लो फिल्म ऊनको स्वीटर सँग पनि ‘काजी’को कथा र पात्र तुलना गर्न नमिल्ने बताए। उनका अनुसार ‘काजी’ले आदर्श प्रेम र समर्पणको कथा प्रस्तुत गर्छ, जहाँ आफ्नो प्रेमका लागि पात्रले जे पनि गर्न तयार हुन्छ।
फिल्ममा विपिनको जोडीका रूपमा देखिएकी केकी अधिकारी ले ‘काजी’लाई प्रेम, विश्वास र समर्पणको कथा भनेर व्याख्या गरेकी छन्। उनका अनुसार काजी र कजिनीको सम्बन्ध गहिरो विश्वासमा आधारित छ। केकीले भनिन्, “प्रेमको दृष्टिले हेर्दा काजीलाई भगवान् रामभन्दा पनि माथि राख्न सकिन्छ। कजिनीले काजीबाट त्यति धेरै माया र समर्पण अनुभव गर्छे।”
फिल्मको ट्रेलरमा देखाइएको कजिनी पात्रको झुटबारे स्पष्ट पार्दै उनले सम्बन्ध जोगाउन पात्रले गरेको प्रयासलाई स्वाभाविक रूपमा चित्रण गरिएको बताइन्। लक्ष्मण रिजाल को निर्देशनमा बनेको फिल्ममा विपिन र केकीसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दीप बाबु लोहनी तथा प्रशंसा सुवेदी लगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्मको कथा तथा लेखन प्रदीप भारद्वाजले गरेका हुन् भने निर्माण रामप्रसाद रिजाल, नेहान रिजाल र विकासराज जोशी ले गरेका छन्।