काठमाडौं । अभिनेत्री आँचल शर्माले फिल्म एक मुठ्ठी बादल मार्फत आफ्नो अभिनय यात्रामा नयाँ उचाइ थपेकी छन् । गत अप्रिलमा करिअरको एक दशक पूरा गरेकी आँचलले यस फिल्ममा प्रस्तुत गरेको अभिनयलाई दर्शक र समीक्षक दुवैले प्रशंसा गरेका छन् ।
सन् २०१६ मा प्रदर्शन भएको नाइँ नभन्नू ल ४ बाट अभिनय यात्रा सुरु गरेकी आँचलले यसअघि थुप्रै फिल्ममा अभिनय गरे पनि उनको अभिनय, विशेषगरी ‘डाइलग डेलिभरी’, आलोचनाको केन्द्र बन्ने गरेको थियो । तर, शुक्रबारबाट प्रदर्शनमा आएको ‘एक मुठ्ठी बादल’मा भने उनले आफूलाई पूर्ण रूपमा परिवर्तन भएको कलाकारका रूपमा प्रस्तुत गरेकी छन् ।
फिल्ममा उनी घरकी माइली छोरीको भूमिकामा देखिएकी छन्, जसको विवाहलाई केन्द्रमा राखेर कथा अगाडि बढ्छ । परिवारको दबाब, सामाजिक मर्यादा र आफ्नै चाहनाबीचको अन्तरद्वन्द्वमा बाँचेकी युवतीको मनोविज्ञानलाई आँचलले प्रभावशाली ढंगले पर्दामा उतारेकी छन् ।
विशेषगरी यस फिल्ममा उनको संवाद प्रस्तुति स्वाभाविक र विश्वसनीय देखिएको छ । अघिल्ला फिल्ममा देखिने कृत्रिमपन हटेर यसपटक उनको अभिनय निकै परिपक्व बनेको समीक्षकहरूको भनाइ छ । संवादभन्दा बढी अनुहारको भावभङ्गी र मौन अभिव्यक्तिमार्फत पात्रको पीडा र द्वन्द्व देखाउन सफल हुनु फिल्मको बलियो पक्ष बनेको छ ।
सहारा शर्माको निर्देशनमा बनेको यस फिल्ममा आँचल केन्द्रमा रहेकी छन् । प्रिमियर शोमै निर्देशक ज्ञानेन्द्र देउजा तथा अभिनेता महेश त्रिपाठी ले उनको अभिनयलाई ‘सरप्राइज प्याकेज’को संज्ञा दिएका थिए ।
फिल्म प्रदर्शनसँगै दर्शकबाट पनि सकारात्मक प्रतिक्रिया आउन थालेको छ । यसले आँचल शर्मालाई करिअरमा नयाँ मोड दिने र अभिनय क्षमताको पुनःस्थापना गर्ने अपेक्षा गरिएको छ ।