काठमाडौं । प्रदर्शन रोक्ने अदालतको आदेशपछि अन्योलमा परेको फिल्म ‘लालीबजार’ अहिले देशभर उत्साहजनक व्यापार गर्न सफल भएको छ । उच्च अदालत पाटनले प्रदर्शनको बाटो खुला गरेपछि वैशाख २५ गतेदेखि हलमा लागेको फिल्मले सकारात्मक दर्शक प्रतिक्रियाका कारण दोस्रो सातामा झन् आक्रामक व्यापार गरिरहेको छ ।
फिल्मले पहिलो सातामै करिब साढे दुई करोड रुपैयाँ कमाएको निर्माण पक्षले जनाएको छ । दोस्रो सातामा व्यापार थप बढ्ने अनुमान गरिएको छ । शुक्रबारको व्यापार पहिलो दिनको तुलनामा बढी रहेको बताइएको छ भने शनिबारका लागि देशभर उत्साहजनक रूपमा टिकट बिक्री भइरहेको छ । यसले फिल्मले दुई सातामै पाँच करोड रुपैयाँको आँकडा पार गर्ने सम्भावना देखिएको छ ।
दोस्रो सातामा फिल्मको शो संख्या पनि उल्लेखनीय रूपमा बढेको छ । शनिबारका लागि देशभर दुई सयभन्दा बढी शो प्राप्त भएको जनाइएको छ, जुन पहिलो साताको तुलनामा लगभग दोब्बर हो । सकारात्मक ‘वर्ड अफ माउथ’ अर्थात् दर्शक प्रतिक्रियाले फिल्मको व्यापारमा मुख्य भूमिका खेलेको विश्लेषण गरिएको छ ।
फिल्म बादी समुदायका आमा-छोरीको कथामा आधारित छ । यही विषयलाई लिएर समुदायभित्र मिश्रित प्रतिक्रिया देखिएको छ । एक पक्षले फिल्मको विरोध गर्दै आन्दोलन गरिरहेको छ भने अर्का पक्षले फिल्मको खुलेर प्रशंसा गरिरहेका छन् । केही दिनअघि सुर्खेतको एक हलमा बादी समुदायका डेढ सयभन्दा बढी दर्शकले फिल्म हेरेपछि निर्माण टिमलाई धन्यवाद दिएका थिए ।
फिल्मको टोली अहिले दर्शकसँग प्रत्यक्ष भेटघाटमा पनि व्यस्त छ । अभिनेत्री स्वस्तिमा खड्कासहितका कलाकारले नेपालगन्ज, बुटवल र सुर्खेतका विभिन्न हल पुगेर दर्शकलाई धन्यवाद दिएका थिए । स्वस्तिमा शनिबार चितवन र आइतबार पोखरा पुग्ने कार्यक्रम रहेको जनाइएको छ ।
यम थापाको निर्देशनमा बनेको फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, विशाल देवकोटा, प्रशंसा सुवेदी, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, रमेश बादी र तारा शर्मालगायत कलाकारको अभिनय रहेको छ । फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।