काठमाडौं । नेपालमा प्रदर्शनपछि सकारात्मक प्रतिक्रिया बटुलिरहेको नेपाली फिल्म ‘मालती मंगले’ अब अमेरिका र क्यानडामा प्रदर्शन हुने भएको छ। फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन यात्रा अन्तर्गत भोलि शुक्रबारदेखि अमेरिकाका विभिन्न सहरमा दैनिक शोसहित प्रदर्शन सुरु गरिने भएको हो।
सेभेन सिज इन्टरनेशनल फिल्म्स र नेपाल ११ इन्टरटेनमेन्टको सहकार्यमा फिल्म अमेरिकाको बक्स अफिसमा रिलिज हुन लागेको हो। नेपाल ११ इन्टरटेनमेन्टका प्रतिक सुवेदीका अनुसार सान फ्रान्सिस्को, ड्यालस, कोलम्बस, अस्टिनलगायत अमेरिकाका प्रमुख सहरका हलहरूमा फिल्म प्रदर्शन गरिनेछ।
उनका अनुसार केही दिनअघि खुला गरिएको अग्रिम टिकट बुकिङप्रति दर्शकको उत्साहजनक प्रतिक्रिया देखिएको छ। नेपालमा फिल्मले पाएको सकारात्मक प्रतिक्रिया र चर्चित गीत ‘झ्याम पारम’ले अमेरिकामा रहेका नेपाली दर्शकमाझ फिल्मप्रति उत्साह थप बढाएको उनले बताए। अंग्रेजी सबटाइटलसहित प्रदर्शन हुन लागेको फिल्मको क्यानडामा पनि प्रदर्शन अधिकार बिक्री भइसकेको छ। आँगन इभेन्ट्सले क्यानडाको प्रदर्शन अधिकार खरिद गरेको हो। क्यानडामा समेत चाँडै प्रदर्शन मिति घोषणा गरिने जनाइएको छ।
निर्माता रामकृष्ण ढकालका अनुसार फिल्मको अन्य अन्तर्राष्ट्रिय बजारमा पनि प्रदर्शन अधिकार बिक्री हुने क्रम जारी छ।
प्रकु पाण्डेयको निर्देशनमा बनेको ‘मालती मंगले’मा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा र सुस्मा निरौलालगायत कलाकारहरूको अभिनय रहेको छ। अभिनेता सरोज खनाल विशेष भूमिकामा देखिएका छन्।
ग्रामीण परिवेशमा आधारित फिल्मले एक दम्पतीको सम्बन्धमा आउने उतारचढाव र पारिवारिक संघर्षको कथा प्रस्तुत गरेको छ।