काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘एक मुठ्ठी बादल’ को प्रिमियर बुधबार काठमाडौंमा सम्पन्न भएको छ । प्रिमियर कार्यक्रममा अभिनेत्री आँचल शर्मा बेहुलीको अवतारमा प्रस्तुत भएकी थिइन् ।
महिला नौमती बाजा समूहको सांगीतिक प्रस्तुतिबीच आँचलले डिजाइनर मनिष राईले तयार गरेको रातो रङको गाउन र लामो घुम्टो लगाएर प्रिमियर स्थलमा प्रवेश गरेकी थिइन् । कार्यक्रममा उनको प्रस्तुति फिल्ममा निर्वाह गरेको पात्रसँग मेल खाने शैलीमा देखिएको थियो ।
फिल्ममा आँचलले ‘माइली’ नामक पात्रको भूमिका निर्वाह गरेकी छन् । उक्त पात्रमार्फत विवाहसँग जोडिएका भावनात्मक जटिलता, सामाजिक अपेक्षा तथा महिलाले भोग्ने व्यक्तिगत अनुभवलाई संवेदनशील ढंगले प्रस्तुत गरिएको बताइएको छ ।
निर्देशक साहारा शर्माले फिल्म महिलाका भावना र अनुभवमा केन्द्रित रहेको बताइन् । उनका अनुसार नेपाली चलचित्रमा कमै मात्र उठाइने विषयलाई ‘एक मुठ्ठी बादल’ मार्फत प्रस्तुत गरिएको हो । फिल्मले मध्यमवर्गीय नेपाली परिवारको यथार्थपरक कथा चित्रण गरेको भन्दै प्रिमियरमा सहभागी दर्शकले कथावस्तु, अभिनय र कथावाचन शैलीको प्रशंसा गरेका थिए ।
प्रिमियर कार्यक्रममा निर्माता अभिमन्यू दीक्षित, सामिप्यराज तिमल्सेना, निकुन श्रेष्ठ र अनुप पौडेललगायत निर्माण टिमले अतिथिहरूलाई स्वागत गरेका थिए । कार्यक्रम सञ्चारकर्मी र कलाकारबीचको अन्तरक्रियासँगै सम्पन्न भएको थियो ।
निर्माता अभिमन्यू दीक्षितले आफूहरूले मनदेखि चलचित्र निर्माण गरेको उल्लेख गर्दै अब फिल्मलाई दर्शकमाझ पुर्याउने जिम्मा दर्शक र सञ्चारमाध्यमको भएको बताए ।