काठमाडौं । आगामी नेपाली फिल्म ‘महाराजधिराज’को मंगलबार बिहान शुभमुहूर्त गरिएको छ। बंगलामुखी मन्दिरमा शंखध्वनि र पञ्चेबाजासहित पूजा गर्दै फिल्मको औपचारिक सुरुआत गरिएको हो।
मुहूर्त कार्यक्रममा निर्देशक परिच्छेद सेन, मुख्य कलाकारहरू पुष्प खड्का, पूजा शर्मा, उषा रजक र आर्यन सिग्देल लगायत निर्माण टिमको उपस्थिति रहेको थियो।
निर्देशक सेनका अनुसार फिल्मको छायांकन यही शुक्रबारबाट सुनसरीको श्रीलंका टापुबाट सुरु हुनेछ। प्रारम्भिक एक हप्ता त्यहीँ छायांकन गरिनेछ भने त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा आकर्षक स्थानहरूमा करिब ७० दिनसम्म छायांकन गरिनेछ। फिल्मका छायांकार नवराज थापा रहेका छन्।
लामो समयदेखि तयारी गरिएको ‘महाराजधिराज’ सामाजिक परिवेशमा आधारित पिरियड ड्रामा हुने निर्देशक सेनले बताएका छन्। फिल्ममा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित बिष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डी।सी।, सुशील सिटौलालगायत कलाकारहरूको अभिनय रहनेछ।
त्यसैगरी नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी लगायतका कलाकारहरूको पनि सहभागिता रहनेछ। करिब ८० भन्दा बढी कलाकारहरू समेटिएको यो फिल्म ठूलो कलाकार टोलीका कारण चर्चामा रहेको छ।
‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्टले बलियो कलाकार टोलीका कारण उत्कृष्ट फिल्म निर्माण हुने विश्वास व्यक्त गरेका छन्। छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा निर्देशक सेनकै लेखन रहेको छ भने निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट रहेका छन्।
फिल्म आगामी फूलपातीको अवसरमा प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ।