काठमाडौं । नेपालको कृषि क्षेत्रअन्तर्गत कुखुरापालन व्यवसाय अर्थतन्त्रको एक महत्वपूर्ण आधारको रूपमा स्थापित भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘नेपाल व्यवसायिक कुखुरा पालन सर्वेक्षण २०८१/८२’ अनुसार यस क्षेत्रले वार्षिक ६० अर्ब ९६ करोड रुपैयाँभन्दा बढी योगदान पुर्याएको छ।
सर्वेक्षणअनुसार देशभर वार्षिक करिब ११ करोड ७१ लाख ब्रोइलर कुखुरा पालिने गरेका छन्, जसमध्ये १० करोडभन्दा बढी बिक्री हुने गरेको छ। यसबाट मात्रै ५७ अर्ब ८६ करोड रुपैयाँभन्दा बढी आर्थिक कारोबार हुने गरेको देखिएको छ।
नेपालमा वार्षिक रूपमा २५ करोड ८६ लाख केजीभन्दा बढी ब्रोइलर कुखुराको मासु उत्पादन हुने गरेको छ। उत्पादन र आम्दानीका आधारमा बागमती प्रदेश अग्रस्थानमा रहेको छ, जहाँ मात्रै ९ करोड ३९ लाख केजीभन्दा बढी मासु उत्पादन भई २१ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको छ।
त्यस्तै, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कोइलर तथा गिरिराज जातका कुखुराबाट उल्लेखनीय आम्दानी भइरहेको छ। यी जातका कुखुराबाट क्रमशः अर्बौं रुपैयाँ बराबरको उत्पादन हुने गरेको सर्वेक्षणले देखाएको छ।
ब्रोइलर कुखुरालाई औसत ४३.७ दिनसम्म पालेर करिब २.६ केजी तौल पुगेपछि बजारमा बिक्री गर्ने गरिन्छ। तर, यस व्यवसायमा जोखिम पनि उच्च देखिएको छ। कुल पालिएका कुखुरामध्ये करिब १०.४ प्रतिशत (१ करोड २२ लाख) कुखुराको मृत्यु हुने गरेको तथ्याङ्कमा उल्लेख छ। यसका साथै करिब ११ लाख ७६ हजार कुखुरा घरायसी उपभोगमा प्रयोग हुने गरेका छन्।
प्रदेशगत रूपमा मासुको मूल्यमा उल्लेखनीय अन्तर देखिएको छ। भौगोलिक विकटता र ढुवानी खर्चका कारण कर्णाली प्रदेशमा ब्रोइलर मासुको मूल्य सबैभन्दा बढी औसत २७८ रुपैयाँ प्रतिकेजी रहेको छ। त्यसको विपरीत, मधेश प्रदेशमा सबैभन्दा सस्तो मूल्यमा औसत १९२ रुपैयाँ प्रतिकेजीमा कुखुराको मासु बिक्री हुने गरेको छ।
समग्रमा, कुखुरापालन क्षेत्रले नेपालमा रोजगारी सिर्जना गर्नुका साथै ग्रामीण र सहरी अर्थतन्त्रलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको पुष्टि भएको छ।