काठमाडौं । नेपाल-भारत सीमामा भन्सार जाँच कडा गरिएपछि कञ्चनपुरको महेन्द्रनगर बजारमा किनमेल गर्ने उपभोक्ताको चहलपहल उल्लेख्य रूपमा बढेको छ। सीमावर्ती भारतीय बजार वनबासाबाट सामान ल्याउँदा भन्सार राजस्व अनिवार्य तिर्नुपर्ने व्यवस्था प्रभावकारी रूपमा लागू भएपछि नेपाली उपभोक्ताको आकर्षण स्वदेशी बजारतर्फ बढ्न थालेको हो।
गड्डाचौकी नाकामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा निगरानी बढाउँदै १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार तिर्नुपर्ने नियम कडाइका साथ कार्यान्वयन गरेपछि दैनिक उपभोग्य सामग्रीदेखि इलेक्ट्रोनिक सामानसम्म किनमेलका लागि वनबासा जाने क्रम घटेको छ।
महेन्द्रनगरका व्यवसायी इन्द्रबहादुर बमले सीमामा भएको कडाइले स्थानीय बजारमा व्यापार बढाएको बताउनुभयो। उहाँका अनुसार भारतीय बजारमा सामान सस्तो भए पनि यातायात खर्च र भन्सार जोड्दा मूल्य लगभग बराबर पर्ने भएकाले उपभोक्ता अहिले स्थानीय बजारमै फर्किन थालेका छन्। “पहिले सामान्य घरायसी सामान किन्न पनि पारि जाने चलन थियो,” उहाँले भन्नुभयो, “अहिले भन्सार कडाइ भएपछि यहाँकै बजारमा ग्राहकको चहलपहल बढेको छ।”
उता भारतीय सीमावर्ती बजार वनबासाका व्यापारीहरूले भने व्यापारमा ठूलो असर परेको बताएका छन्। एक भारतीय व्यापारीका अनुसार गर्मी मौसममा पङ्खा, फ्रिज र कुलर खरिदका लागि दैनिक नेपाली ग्राहक आउने गर्थे, तर अहिले सीमामा कडाइ भएपछि व्यापार सुस्ताएको छ।
सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले कृषकका लागि मल ल्याउन सहजीकरण गरिए पनि अन्य सामान भने भन्सार प्रक्रिया पूरा गरेर मात्र ल्याउनुपर्ने स्पष्ट पार्नुभयो। उहाँले सीमामा निगरानी बढेपछि भन्सार राजस्व संकलनसमेत वृद्धि भएको जानकारी दिनुभयो।
सीमामा साइकलमार्फत सामान क्यारिङ गरेर महेन्द्रनगर ल्याउने गतिविधिसमेत अहिले रोकिएको छ। विवाह, पूजाआजा वा घरायसी प्रयोजनको नाममा भन्सार छल्ने प्रवृत्ति नियन्त्रण गर्न कडाइ गरिएको सुरक्षा निकायको भनाइ छ।
नेपाल-भारत मैत्री सङ्घका महासचिव माधव जोशीले सीमामा गरिएको कडाइले स्वदेशी उत्पादनको प्रयोग र स्थानीय व्यापारलाई प्रोत्साहन मिलेको बताउनुभयो। उहाँले यसबाट दीर्घकालीन रूपमा रोजगारी र आन्तरिक अर्थतन्त्रलाई फाइदा पुग्ने धारणा राख्नुभयो।
यद्यपि कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले भारतमा मजदुरी गरेर फर्किने नेपाली नागरिकलाई अनावश्यक दुःख दिन नहुने उल्लेख गर्दै व्यवहारिक रूपमा भन्सार व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो।