काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकबाट २६ करोड १९ लाख ३१ हजार १७७ रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नियमित चेकजाँच, सचेतनामूलक अभियान तथा नियम उल्लङ्घन गर्ने चालकविरुद्ध कडाइ गरिएको जानकारी दिए।
उनका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा तीन लाख ७३ हजार ५६२ चालक कारबाहीमा परेका छन्। पटक-पटक एउटै कसुर दोहोर्याउने चालकविरुद्ध थप कडाइ गरिएको भन्दै पाँच पटकभन्दा बढी कारबाहीमा परेका चालकको लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभागमा सिफारिस गरिएको उनले बताए। हालसम्म ३१ जना चालकको लाइसेन्स निलम्बनका लागि सिफारिस गरिएको छ।
ट्राफिक प्रहरीका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म काठमाडौँ उपत्यकामा चार हजार ६३१ सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा १७४ जनाको मृत्यु भएको छ भने १८६ जना गम्भीर घाइते भएका छन्। साथै, चार हजार ९२७ जना सामान्य घाइते भएका छन्। प्रहरीले तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरी गाडी चलाउने, लेन मिच्ने तथा रातोबत्ती उल्लङ्घन गर्ने प्रवृत्ति दुर्घटनाको मुख्य कारण बनेको जनाएको छ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मापसे गरेर सवारी चलाउने २३ हजार ४८ चालक, रातोबत्ती उल्लङ्घन गर्ने २८ हजार ३०८ चालक, तीव्र गति अपनाउने २३ हजार ७७२ चालक तथा लेन मिच्ने २३ हजार ९८४ चालक कारबाहीमा परेका छन्। त्यस्तै, सवारीको स्वरूप परिवर्तन गर्ने एक हजार ४५०, बढी भाडा असुल्ने ८९०, लागुपदार्थ सेवन गरेर सवारी चलाउने १२४ तथा चालक अनुमतिपत्रबिना सवारी चलाउने १० हजार ४८९ जनामाथि पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले पछिल्लो समय डिजिटल निगरानी, सिसिटिभीमार्फत अनुगमन तथा विशेष चेकिङ अभियानलाई तीव्र बनाएको जनाएको छ। दुर्घटना न्यूनीकरणका लागि चालक र यात्रु दुवै सचेत हुन आवश्यक रहेको भन्दै प्रहरीले ट्राफिक नियम पालना गर्न सबैलाई आग्रह गरेको छ।