काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ जानकी टोलका ७३ वर्षीय ग्रिस चन्द उमेरले ज्येष्ठ नागरिक भए पनि ब्याडमिन्टनप्रतिको उत्साह र लगावमा कुनै कमी आएको छैन। उनी हरेक बिहान महेन्द्रनगरस्थित कबर्डहल पुगेर नियमित रूपमा ब्याडमिन्टन खेल्ने गर्छन्।
विसं २०५६ देखि ब्याडमिन्टन खेल्न थालेका चन्दले खेललाई आफ्नो जीवनशैलीको हिस्सा बनाइसकेका छन्। “ब्याडमिन्टन त अब लतजस्तै भइसक्यो, खेल्न नआएको दिन बेचैन लाग्छ,” उनले भने। चन्दका अनुसार उनी बिहान ४ बजेदेखि योग साधना र व्यायामबाट दिनको सुरुआत गर्छन्। त्यसपछि ब्याडमिन्टन खेल्न कबर्डहल पुग्ने उनको दैनिक तालिका बनेको छ। स्वस्थ जीवनका लागि नियमित व्यायाम, योग र सन्तुलित खानपान आवश्यक रहेको उनी बताउँछन्।
भन्सार अधिकृतबाट २०७० सालमा अवकाश प्राप्त गरेका चन्दले जागिरका क्रममा धनगढी, नेपालगञ्ज, भैरहवा र वीरगञ्जसम्म पुगेर ब्याडमिन्टन खेलेको अनुभव सुनाए। नेपालगञ्ज र वीरगञ्जमा आयोजित जिल्लास्तरीय प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको प्रमाणपत्र अहिले पनि सुरक्षित राखेको उनले बताए। आँखामा केही समस्या भएर टाढाको दृश्य प्रस्ट नदेखिने भए पनि अझै धेरै वर्षसम्म खेल्न सक्ने आत्मविश्वास आफूमा रहेको चन्दको भनाइ छ। “शरीरले साथ दिएसम्म खेलिरहने सोच छ,” उनले भने।
भीमदत्त नगरपालिका-६ का ६९ वर्षीय प्रेमसिंह भाट पनि दशकौँदेखि ब्याडमिन्टनमा सक्रिय छन्। उनले पछिल्लो समय युवापुस्तामा ब्याडमिन्टनप्रति आकर्षण बढ्दै गएको भए पनि पाको उमेरका खेलाडी घट्दै गएको बताए। विसं २०६४ यता नियमित रूपमा कबर्डहलमा खेल्दै आएका भाटले भेट्रानतर्फ राष्ट्रियस्तरको उपाधि जितिसकेको जानकारी दिए। “अब हाम्रो उमेरमा राष्ट्रका लागि भन्दा पनि स्वास्थ्यका लागि खेल्ने हो,” उनले भने।
स्थानीय खेलाडीहरूका अनुसार सुदूरपश्चिम क्षेत्रमा पछिल्ला वर्षहरूमा ब्याडमिन्टन खेल गाउँगाउँसम्म विस्तार हुँदै गएको छ, जसले नयाँ पुस्तालाई खेलतर्फ आकर्षित गरिरहेको छ।