काठमाडौं । नेपाली समाजमा हराउँदै गएको ‘मित’ संस्कृतिलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्म मितज्यूको ट्रेलर सार्वजनिक गरिएको छ। आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरले दुई मितबीचको मित्रता, सम्बन्धमा आउने उतारचढाव र द्वन्द्वलाई रोचक ढंगले प्रस्तुत गरेको छ। पेसाले चालक रहेका दुई पात्रबीचको भावनात्मक सम्बन्ध र त्यसमा आउने तनावलाई फिल्मको मुख्य कथावस्तु बनाइएको देखिन्छ।
आधुनिक जीवनशैलीको प्रभावसँगै नेपालमा हराउँदै गएको मित लगाउने परम्परालाई फिल्मले पुनः उजागर गर्ने प्रयास गरेको छ। सामाजिक सद्भाव, भाइचारा र भावनात्मक सम्बन्धको कथा फिल्ममा समेटिएको ट्रेलरबाट संकेत मिल्छ। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, खड्गबहादुर पुन र अनुषा राईलगायत कलाकारहरूको अभिनय रहेको छ।
यसै फिल्मबाट चर्चित डान्सर टेरिया फौजा मगर ले अभिनेत्रीको रूपमा डेब्यू गरेकी छन्। ट्रेलरमा उनको अभिनयलाई दर्शकले सकारात्मक रूपमा लिएका छन्। फिल्मका निर्देशक अनिल बुढा मगर हुन् भने निर्माता जनक घर्ती मगर रहेका छन्। यसअघि निर्देशक अनिल र जनकको सहकार्यमा बनेको फिल्म ‘घरज्वाइँ’ व्यावसायिक रूपमा सफल भएको थियो।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा महेश राईको लेखन, शिशिर बिशंखेको छायांकन तथा लोकेश बज्राचार्यको सम्पादन रहेको छ।