काठमाडौं । साविक विश्व विजेता अर्जेन्टिना राष्ट्रिय फुटबल टोलीले आगामी फिफा विश्वकप २०२६ का लागि ५५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । अर्जेन्टिना फुटबल संघले सोमबार सार्वजनिक गरेको टोलीमा अनुभवी तथा युवा खेलाडीहरूको सन्तुलित समावेश गरिएको छ ।
टोलीको कप्तानीमा स्टार खेलाडी लियोनल मेसी यथावत रहेका छन् । तर यसपटक चर्चित फरवार्ड पाउलो डिबाला प्रारम्भिक टोलीमा पर्न सकेनन् । घोषित टोलीमा ६ गोलरक्षक, १८ डिफेन्डर, १५ मिडफिल्डर र १६ फरवार्ड रहेका छन् । प्रशिक्षक टोलीले अनुभवी खेलाडीसँगै युवा प्रतिभालाई समेत प्राथमिकता दिएको देखिन्छ ।
गोलरक्षकमा एमिलियानो मार्टिनेज, गेरोनिमो रुली, जुआन मुसो र वाल्टर बेनिटेज रहेका छन् । डिफेन्स लाइनमा क्रिस्टियन रोमेरो, लिसान्द्रो मार्टिनेज, निकोलस ओटामेन्डी तथा नाहुएल मोलिनाजस्ता अनुभवी खेलाडी समावेश छन् । मिडफिल्डमा रोड्रिगो डे पाउल, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र लिएन्ड्रो परेडेस रहेका छन् ।
फरवार्ड लाइनमा मेसीसँगै जुलियन आल्भारेज, लाउतारो मार्टिनेज, अलेजान्द्रो गार्नाचो, थियागो आल्माडा र युवा खेलाडी फ्रान्को मास्तान्तुओनोले स्थान बनाएका छन् ।
फिफा विश्वकप २०२६ आगामी जुन ११ देखि अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुँदैछ । अर्जेन्टिनाले सन् २०२२ मा कतारमा सम्पन्न विश्वकप जित्दै तेस्रो पटक उपाधि उचालेको थियो ।