काठमाडौं । नयाँ सरकार गठनसँगै नेपाली खेलकुद क्षेत्रमा रूपान्तरणको बहस तीव्र बनेको छ। लामो समयदेखि राजनीतिक हस्तक्षेप र नेतृत्व संकटले प्रभावित खेलकुद क्षेत्र अब सुधारको दिशामा अघि बढ्ने कि पुनः राजनीतिक अखडामै सीमित हुने भन्ने प्रश्न उठ्न थालेको छ।
विशेषगरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) नेतृत्वविहीन अवस्थाबाट गुज्रिरहेको सन्दर्भमा यसको पुनर्संरचना र प्रभावकारी सञ्चालन नयाँ सरकारका लागि प्रमुख चुनौती बनेको छ। हाल कामचलाउ सदस्यसचिवका रूपमा राम चरित्र मेहता जिम्मेवारीमा छन्।
विश्लेषकहरूका अनुसार खेलकुदलाई राजनीतिक कार्यकर्ता व्यवस्थापनको थलो बनाउने प्रवृत्ति अन्त्य नगरेसम्म अपेक्षित सुधार सम्भव छैन। विगतमा लोकतन्त्रपछि खेलकुदले गति लिने अपेक्षा गरिए पनि उल्टै राजनीतिक हस्तक्षेप बढ्दै जाँदा क्षमतावान् खेलाडी र प्रशिक्षकहरू ओझेलमा परेको अवस्था छ।
भावी प्रधानमन्त्रीका रूपमा चर्चा गरिएका बालेन्द्र साह जस्ता युवा नेतृत्वप्रति खेलप्रेमीहरूले आशा व्यक्त गरेका छन्। उनीहरूको नेतृत्वमा खेलकुदलाई ‘राष्ट्रिय गौरव’को माध्यमका रूपमा विकास गर्न सकिने अपेक्षा गरिएको छ।
आगामी चुनौतीहरूमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता र एशियाली खेलकुद (एसियाड) को तयारी प्रमुख छन्। विशेषगरी कर्णाली प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुद पूर्वाधार विकास र प्रतिभा पहिचानका लागि अवसर भए पनि तयारीमा ढिलाइ हुने पुरानो प्रवृत्ति दोहोरिन नहुनेमा जोड दिइएको छ।
खेल विज्ञहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा सफल हुन समयमै खेलाडी छनोट, दीर्घकालीन प्रशिक्षण, वैदेशिक भहउयकगचभ र खेल विज्ञानको प्रयोग आवश्यक रहेको बताएका छन्। साथै विद्यालयस्तरदेखि नै खेलकुदलाई अनिवार्य बनाउँदै प्रतिभा विकास गर्ने प्रणाली निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
यस्तै, सातै प्रदेशमा उच्चस्तरीय प्रशिक्षण केन्द्र स्थापना, खेल संघहरूमा हुने दलीय भागबण्डा अन्त्य र व्यावसायिक व्यवस्थापन लागू गर्नुपर्ने माग पनि उठिरहेको छ। खेलकुदलाई अर्थतन्त्र र कूटनीतिको महत्त्वपूर्ण पाटोका रूपमा विकास गर्न सके मात्र नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी उपस्थिति जनाउन सक्ने विज्ञहरूको भनाइ छ।
समग्रमा, नयाँ सरकारका लागि खेलकुद क्षेत्र सुधार गर्ने यो एक महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। दीर्घकालीन ‘स्पोर्ट्स रोडम्याप’ निर्माण गरी राजनीतिक हस्तक्षेपमुक्त, व्यावसायिक र परिणाममुखी प्रणाली स्थापना गर्न सके नेपाली खेलकुदले नयाँ उचाइ लिन सक्ने विश्वास गरिएको छ।