काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक बिहीबार दोहोरो अंकले उकालो लागेको छ। यस दिन नेप्से सूचक २७.१९ अंकले बढ्दै २७०८.७० बिन्दुमा पुगेको छ। साताको सुरुदेखि अस्थिर देखिएको बजारमा बिहीबार सुधार देखिएको हो।
कारोबार सुरु भएदेखि नै बढ्दो क्रममा रहेको नेप्से सूचक बन्द हुँदासम्म कायम रह्यो। नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स पनि ४.४७ अंकले बढेको छ। अघिल्लो दिनसम्म करिब ३२ अंक घटेको बजारले बिहीबार उल्लेख्य रिकभरी गरेको हो।
बिहीबार कारोबार भएका सेयरमध्ये कालिञ्चोक दर्शन लिमिटेड, सुपर मादी हाइड्रोपावर र मोदी इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कुल कारोबार भएका ३ सय २६ कम्पनीमध्ये २ सय १ कम्पनीको सेयर मूल्य बढेको छ भने ५५ कम्पनीको घटेको छ। ४ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ। समूहगत सूचकतर्फ अधिकांश सूचकहरू हरियाली देखिएका छन्। बैंकिङ समूह ७.७१, विकास बैंक ५३.७८, वित्त १२.१६, होटल तथा पर्यटन १७.०७, जलविद्युत् ५८.५०, जीवन बीमा १४३.८५, निर्जीवन बीमा २१८.९२, उत्पादनमूलक ६९.२१ र लघुवित्त समूह २९.५५ अंकले बढेका छन्। यद्यपि व्यापार समूह भने १८.५१ अंकले घटेको छ।
कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। बिहीबार ३ सय २६ कम्पनीको १ लाख ८ हजार ८ सय १७ कारोबारबाट ११ अर्ब ५८ करोड रुपैयाँ बराबरको ३ करोड ५५ लाख ७४ हजार ६ सय २७ कित्ता सेयर किनबेच भएको छ। यो रकम अघिल्लो दिनको तुलनामा उल्लेख्य रूपमा बढी हो।
बुधबार नेप्सेमा ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो। बजारमा बढ्दो सूचक र कारोबार रकमले लगानीकर्ताको मनोबल क्रमशः सुधार हुँदै गएको संकेत गरेको विश्लेषकहरू बताउँछन्।