काठमाडौँ । विश्वका धनी व्यक्ति एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेस-एक्स ले अन्तरिक्षमा १० लाख भूउपग्रह (स्याटलाइट) प्रक्षेपण गर्न अनुमति माग्दै अमेरिकी सङ्घीय सञ्चार आयोग (एफसीसी) मा निवेदन दर्ता गराएको छ। रोयटर्सका अनुसार, उक्त निवेदन शुक्रबार दर्ता गरिएको हो।
स्पेस-एक्सले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र रूपमा बढ्दो कम्प्युटिङ माग पूरा गर्न अन्तरिक्षमा आधारित ‘अर्बिटल डेटा सेन्टर’ निर्माण गर्ने योजना अघि सारेको छ। कम्पनीका अनुसार हाल पृथ्वीमा रहेका डेटा सेन्टरहरूलाई सञ्चालन र चिस्याउन अत्यधिक ऊर्जा र पानी आवश्यक पर्ने भएकाले दीर्घकालीन रूपमा ती दिगो समाधान नभएका छन्। अन्तरिक्षमा सौर्य ऊर्जाबाट सञ्चालन हुने डेटा सेन्टरहरू ऊर्जाको हिसाबले बढी कुशल, किफायती र वातावरणमैत्री हुने स्पेस-एक्सको दाबी छ। कम्पनीले पृथ्वीमा बढ्दो एआई प्रयोगका कारण जमिनमा रहेका डेटा सेन्टरहरूको क्षमता चाँडै अपुग हुन सक्ने चेतावनीसमेत दिएको छ।
स्पेस-एक्सले यो परियोजनालाई मानव सभ्यताको विकाससँग जोड्दै यसलाई कार्दाशेभ २-स्तरको सभ्यता (Kardashev II-level civilisation) तर्फको पहिलो कदम भनेको छ। यस्तो सभ्यताले सूर्यबाट प्राप्त सम्पूर्ण ऊर्जालाई उपयोग गर्न सक्ने क्षमता राख्दछ। योजनाको बचाउ गर्दै एलन मस्कले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “अन्तरिक्ष यति विशाल छ कि मानिसले कल्पना गरेभन्दा बाहिर छ। यी स्याटलाइटहरू एक-अर्काबाट यति टाढा हुनेछन् कि देख्नसमेत गाह्रो हुनेछ।”
तर यो प्रस्तावले अन्तरिक्ष सुरक्षा र ट्राफिक व्यवस्थापन सम्बन्धी गम्भीर चिन्ता पनि जन्माएको छ। हाल स्पेस-एक्सको स्टारलिङ्क नेटवर्कअन्तर्गत करिब १० हजार स्याटलाइट सञ्चालनमा छन्। बीबीसीका अनुसार यदि थप १० लाख स्याटलाइट प्रक्षेपण गरिए भने अन्तरिक्ष फोहोर बढ्ने र स्याटलाइटहरू आपसमा ठोक्किने जोखिम अत्यधिक हुनेछ।
यसअघि नै खगोलविद्हरूले स्टारलिङ्क स्याटलाइटका कारण टेलिस्कोपमार्फत गरिने खगोलीय अनुसन्धानमा बाधा पुगेको गुनासो गर्दै आएका छन्। बीबीसीसँग कुरा गर्दै एक विज्ञले अन्तरिक्षमा हार्डवेयरलाई सुरक्षित राख्नु र चिसो बनाइराख्नु अत्यन्तै जटिल र खर्चिलो हुने बताएका छन्।
स्पेस-एक्सका अनुसार प्रस्तावित स्याटलाइटहरू पृथ्वीबाट ५०० देखि २,००० किलोमिटर उचाइमा कक्षमा रहनेछन्। तर यो महत्त्वाकांक्षी परियोजना कहिलेसम्म सम्पन्न हुने भन्नेबारे भने कुनै स्पष्ट समयसीमा उल्लेख गरिएको छैन।