काठमाडौं । नेपाली बक्स अफिसमा यस साता दुई पुस्ताका तीन चर्चित अभिनेत्री अभिनीत फिल्मबीच रोचक प्रतिस्पर्धा देखिएको छ। शुक्रबारदेखि गुरु आमा, लालीबजार र मालती मंगले देशभर प्रदर्शनमा आएका हुन्।
तीनवटै फिल्मले फरक-फरक सामाजिक तथा पारिवारिक विषयवस्तु उठाएकाले दर्शकलाई आफ्नै रुचिअनुसार फिल्म छनोट गर्ने अवसर मिलेको छ। प्रदर्शनको पहिलो दिन शो संख्यामा भने लालीबजार अग्रस्थानमा देखिएको छ। फिल्मले देशभर १२० भन्दा बढी शो पाएको छ भने दोस्रो स्थानमा रहेको मालती मंगले ले करिब १०५ शो प्राप्त गरेको छ। गुरु आमा लाई भने ७१ शो उपलब्ध भएको खल्ती एपमा उल्लेख छ।
रामकृष्ण ढकाल को निर्माण रहेको मालती मंगले मा विजय बराल, वर्षा राउत, प्रकाश घिमिरे लगायत कलाकारको अभिनय रहेको छ। प्रकु पाण्डेय निर्देशित फिल्मले वैवाहिक सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गरेको छ।
त्यसैगरी लालीबजार बादी समुदायका आमा-छोरीको कथामा आधारित छ। यम थापा निर्देशित फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, विशाल देवकोटा लगायत कलाकारको अभिनय रहेको छ।
फिल्म सुरुमा वैशाख १८ गते प्रदर्शनमा आउने तय भए पनि अदालतमा मुद्दा परेपछि प्रदर्शन रोकिएको थियो। पछि उच्च अदालत पाटन ले अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने फैसला गरेपछि प्रदर्शनको बाटो खुलेको हो। प्रदर्शनअघि बिहीबार काठमाडौंमा फिल्मको विशेष प्रिमियर समेत गरिएको थियो।
यता गुरु आमा मा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ लगायत कलाकारको अभिनय रहेको छ। प्रेम सोनी सुनार निर्देशित फिल्मले शिक्षक-विद्यार्थी सम्बन्ध र शैक्षिक परिवेशको कथा प्रस्तुत गरेको छ। फिल्मको एक गीतमा पूजा शर्मा को विशेष नृत्य समावेश गरिएको छ।