काठमाडौं । नेपाल ‘ए’ टोलीले शानदार प्रदर्शनलाई निरन्तरता दिँदै अमेरिकामाथि रोमाञ्चक जित दर्ता गरेको छ । स्कटल्यान्डलाई हराएको केही दिनपछि नेपाल ‘ए’ ले अमेरिकालाई ३ विकेटले पराजित गर्दै अभ्यास सिरिजमा अर्को महत्वपूर्ण सफलता हासिल गरेको हो ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा २६३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले ५ बल बाँकी छँदै ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपालको जितमा मध्यक्रमका ब्याटर मयन यादव नायक बने । उनले ८० बलमा ७२ रनको उत्कृष्ट पारी खेल्दै टोलीको इनिङ्स सम्हाले । आफ्नो इनिङ्समा उनले ४ चौका र ३ छक्का प्रहार गरे ।
नेपालका कप्तान अनिल साहले २७ रन र त्रित राज दासले २३ रन बनाएर सुरुआती योगदान दिए । त्यसपछि सन्दीप जोरा र कुशल मल्लले क्रमशः ३६ र ३३ रन जोड्दै टोलीलाई जिततर्फ अघि बढाए । खेल अन्तिम ओभरसम्म पुग्दा दबाब बढिरहेको अवस्थामा पवन सर्राफले आक्रामक ब्याटिङ गर्दै नेपाललाई ऐतिहासिक जित दिलाए । उनले केवल १५ बलमा अविजित २४ रन बनाउँदै १ चौका र २ छक्का प्रहार गरे । बसिर अहमदले पनि १८ रनको महत्वपूर्ण योगदान दिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६२ रन बनाएको थियो । अमेरिकाका लागि स्मित पटेलले शानदार शतक प्रहार गरे । उनले १०७ बलमा ११६ रन बनाउने क्रममा १० चौका र ५ छक्का प्रहार गरेका थिए ।
नेपालका बलरमध्ये पवन सर्राफले २ विकेट लिए भने विपिन खत्री, शाहब आलम, बसिर अहमद, शेर मल्ल, राशिद खान र नारायण जोशीले समान १-१ विकेट हात पारे ।
आईसीसी विश्वकप लिग-२ सिरिजअघि भइरहेको यस अभ्यास प्रतियोगितामा नेपाल ‘ए’ को प्रदर्शनले समर्थकहरूमा नयाँ उत्साह थपेको छ । लगातार दुई बलिया टोलीमाथि जित निकाल्दै नेपाल ‘ए’ ले आफ्नो क्षमता र आत्मविश्वास दुवै प्रस्तुत गरेको विश्लेषण गरिएको छ ।