काठमाडौं । नेपाली मूलका बेलायती व्यवसायी तथा ‘हिमालय जेट’का मालिक दीपेन्द्र गुरुङले विश्वप्रसिद्ध फुटबलर डेभिड बेकह्याम र लियोनल मेसीसँग जोडिएको सहकार्यलाई नेपालको पर्यटन क्षेत्रका लागि ऐतिहासिक अवसरका रूपमा प्रस्तुत गरेका छन्।
गुरुङले सामाजिक सञ्जालमार्फत डेभिड बेकह्यामसँगको तस्बिर सार्वजनिक गर्दै हिमालय जेट र अमेरिकी फुटबल क्लब इन्टर मियामी सीएफबीचको सम्भावित सहकार्यले नेपाललाई विश्वमञ्चमा थप प्रभावशाली ढंगले चिनाउन मद्दत पुग्ने बताएका हुन्। उनले नेपाललाई विश्वकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने आफ्नो लक्ष्य रहेको उल्लेख गर्दै नेपालको प्राकृतिक, सांस्कृतिक र हिमाली सम्पदालाई विश्वसामु नयाँ ढंगले प्रस्तुत गर्न सकिने विश्वास व्यक्त गरेका छन्।
गुरुङले लेखेका छन्, “हामी सबै मिलेर मेरो सुन्दर देश नेपाललाई विश्वका सबैभन्दा अग्ला आठ हिमालहरूको घर तथा विश्वकै नम्बर १ पर्यटकीय गन्तव्यका रूपमा चिनाउन सक्छौँ।” उनले विगत तीन दशकमा गृहयुद्ध, राजदरबार हत्याकाण्ड, विनाशकारी भूकम्प, महामारी, भ्रष्टाचार तथा राजनीतिक अस्थिरताका कारण नेपालको पर्यटन सम्भावना प्रभावित भएको उल्लेख गर्दै अब नेपाललाई पुनः विश्वभरका पर्यटकहरूको ‘बकेट लिस्ट’ गन्तव्यका रूपमा स्थापित गर्न सकिने बताएका छन्।
गुरुङका अनुसार विश्वप्रसिद्ध फुटबलर लियोनल मेसी र इन्टर मियामीका मालिक डेभिड बेकह्यामजस्ता अन्तर्राष्ट्रिय व्यक्तित्वसँगको सहकार्यले नेपालको पर्यटन, अन्तर्राष्ट्रिय ब्रान्डिङ तथा हवाई सेवा क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
डेभिड बेकह्याम अमेरिकी फुटबल क्लब इन्टर मियामीका मालिकमध्ये एक हुन् भने अर्जेन्टिनी स्टार लियोनल मेसी सोही क्लबका कप्तानका रूपमा आबद्ध छन्।
नेपाली मूलका व्यवसायी दीपेन्द्र गुरुङ अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनी ‘हिमालय जेट’का संस्थापक हुन्। उनले सन् २०२२ मा आयोजित विश्व सुन्दरी प्रतियोगिताको ७१औं संस्करणको सहआयोजनासमेत गरेका थिए। गुरुङ विश्वप्रसिद्ध फिल्म मल्टिप्लेक्स चेन ‘प्राइभा लक्जरी सिनेमाज’ सञ्चालनसँग पनि आबद्ध छन्।