काठमाडौं । आजदेखि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्ने सम्भावना छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै ठाउँमा हल्का हिमपात हुन सक्ने मौमविद्को अनुमान छ। पूर्वी तथा मध्य तराईका थोरै ठाउँमा बिहानीपख हुस्सु लागेको छ। पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रका धेरैजसो जिल्लामा शुक्रवार बेलुकादेखि बदलीसहित वर्षा र हिमपात भएको छ।
मौसम विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार आजदेखि क्रमिकरुपमा घाम लाग्नेछ । तर उच्च पहाडी तथा हिमाली क्षेत्रमा छिटपुट वर्षा र हिमपातको सम्भावना कायमै छ। हिजो जुम्ला, डोल्पा, दार्चुला, बागलुङ, म्याग्दी, रुकुमपूर्व, रोल्पा, दाङ बाँके, बर्दिया, सुर्खेत, गुल्मीलगायत जिल्लामा कतै हल्का वर्षा, केही जिल्लामा हल्का वर्षासँगै हिमपात पनि भएको थियो ।
त्यस्तै गएराति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई ठाउँमा हल्का हिमपात र सामान्यवर्षा भएको छ। लामो खडेरीपछि भएको वर्षा र हिमपातले किसानलाई राहत भएको छ । सिँचाइका लागि हिउँदे वर्षाकै भर पर्नुपर्ने उच्च पहाडी तथा हिमाली क्षेत्रमा लगाएको गहुँ, जौ, केराउ, मुसुरोजस्ता बाली सुक्न थालेका बेला पानी परेको हो ।