काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक अवधिको कृषि, उद्योग तथा निर्माण क्षेत्रको मूल्य र उत्पादन सम्बन्धी महत्त्वपूर्ण तथ्यांक सार्वजनिक गरेको छ। कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कृषि उत्पादकको मूल्यमा निरन्तर वृद्धि देखिएको छ भने औद्योगिक उत्पादन वृद्धि हुने अनुमान छ ।
यस्तै, निर्माण क्षेत्रको लागत मूल्य त्रैमासिक आधारमा घटेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०८२र०८३ को प्रथम त्रैमासिकमा कृषि उत्पादक मूल्य सूचकाङ्क १९३.७२ कायम भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.५० प्रतिशतले बढी हो ।
कार्यालयका अनुसार, यस वृद्धिको मुख्य कारण अन्न बालीहरू (मकै, धान, कोदो)को उत्पादक मूल्यमा भएको वृद्धि हो, जसले सूचकाङ्कमा करिब ५८ प्रतिशत भार ओगट्छ ।
साथै, दुध, अण्डा र माछाजस्ता पशुपन्छीजन्य उत्पादनको मूल्य वृद्धिले पनि यसमा योगदान पुर्याएको छ । यो वृद्धिले कृषकको आम्दानीमा सामान्य सुधारको सङ्केत गरे पनि आगामी दिनमा खाद्य मुद्रास्फीतिमा केही दबाब पर्न सक्ने सम्भावनालाई सूचित गरेको छ ।
प्रथम त्रैमासिकमा समग्र औद्योगिक उत्पादक मूल्य सूचकाङ्क करिब १६४.२६ कायम भएको छ। यो अघिल्लो वर्षको सोही त्रैमासको तुलनामा करिब ३ प्रतिशतले वृद्धि भएको छ, जसले कच्चा पदार्थ, ऊर्जा तथा श्रम लागतका कारण सञ्चित लागत दबाबलाई प्रतिबिम्बित गर्दछ । सिमेन्ट, वनस्पति तेल, सुर्तीजन्य उत्पादन, साबुन तथा डिटर्जेन्ट, केही खाद्य वस्तु र पेय पदार्थजस्ता उपभोगमुखी उद्योगहरूमा मूल्य वृद्धि बढी केन्द्रित देखिएको छ ।
त्यस्तै, खाद्य तेल, पेट्रोलियमजन्य वस्तु तथा रासायनिक पदार्थको उत्पादनमा वृद्धि भए पनि निर्माणसँग सम्बन्धित उद्योगहरू (सिमेन्ट, फलाम) तथा कपडा उद्योगहरूको उत्पादन उल्लेखनीय रूपमा बढ्न नसकेको देखिन्छ।
निर्माण तथा लगानीसँग सम्बन्धित उद्योगहरू (वस्तुको दाना, चामल, फलामजन्य वस्तु, प्लाष्टिकका पाइप फिटिङस, इँटा) मा उत्पादक मूल्य वृद्धिदर कमजोर वा ऋणात्मक देखिएको छ । यसले निर्माण गतिविधिमा अपेक्षित सुधार हुन नसकेको र बजारमा प्रतिस्पर्धात्मक दबाब कायमै रहेको सङ्केत गर्दछ । यसैगरी, औद्योगिक उत्पादन सूचकाङ्क १२५.२ कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा मध्यमस्तरको वार्षिक वृद्धि हो ।
खाद्य तेल, पेट्रोलियमजन्य वस्तु तथा रासायनिक पदार्थको उत्पादनमा वृद्धि भए पनि निर्माणसँग सम्बन्धित उद्योगहरू (सिमेन्ट, फलाम) तथा कपडा उद्योगहरूको उत्पादन उल्लेखनीय रूपमा बढ्न नसकेको देखिन्छ। निर्माण क्षेत्रको लागत मूल्य सूचकाङ्क प्रथम त्रैमासिकमा १५२.३ कायम भएको छ।