काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार देशभर उत्साहजनक रुपमा मनोनयन दर्ता गरिएको छ । मनोनयन दर्ता बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म चलेको थियो ।
निर्वाचन आयोगले मनोनयन दर्ताका लागि तोकेको समय अहिले सकिएको छ । २६ सयभन्दा बढी उम्मेदवारको मनोनयन दर्ता भएको आयोगले जनाएको छ । आजै सूची प्रकाशन गर्ने तयारी छ ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य चुनावका लागि चितवन क्षेत्र नम्बर २ मा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतमा रहेकाले उनले वारेसमार्फत निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् । उनले रास्वपाको भरतपुर महानगर संयोजक सीता ज्ञवालीलाई आफ्नो वारेस दिइ उमेदवारी दर्ता गराएका हुन् । लामिछानेले रास्वपा महानगर सभापति सिता ज्ञवालीलाई वारेस दिएको र उनैले उम्मेदवारी दर्ता गराइन् । रवि लामिछाने तेस्रो पटक चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् ।
यस्तै नेपाली कांग्रेसका सभापति गगन थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । थापाले सर्लाही ४ मा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए । सभापति थापाको वारेस मधेस प्रदेश सभा सदस्य वीरेन्द्र सिंह हुन् ।
यसैगरि पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले झापाको क्षेत्र नम्बर–५ बाट उम्मेदवारी दर्ता गराएका छन् । नेकपाका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यस पटक रुकुम पूर्वबाट उम्मेदवार बनेका छन् । त्यस्तै नेकपाका सहसंयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि आफ्नो क्षेत्र रौतहट–१ बाट उम्मेदवारी दिएका छन् ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र झलनाथ खनाल यस पटक उम्मेदवार बनेका छैनन् ।
एमालेका महासचिव शङ्कर पोखरेलले दाङ–२ मा उमेद्वारी दर्ता गराएका छन् । यसैगरि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी–१ बाट उम्मेदवारी दिएका छन् । उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ काठमाण्डौ–३, एमाले नेता ईश्वर पोखरेल काठमाण्डौ–५ र कांग्रेस नेता डा. शेखर कोइराला मोरङ क्षेत्र नम्बर–६ बाट उम्मेदवार बनेका छन् ।
जनमत पार्टीका अध्यक्ष सीके राउत सप्तरी–२, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी–३ बाट उम्मेदवार बनेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिंङ्देन झापा–३ बाट उम्मेदवार बनेका छन् ।