काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको छ।
उम्मेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्नेछ।
त्यस्तै, गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी पनि छ। साथै वैयक्तिक विवरण फाराम भरी सम्पत्ति विवरण पनि उपलब्ध गराउनुपर्नेछ ।
प्रतिनिधिसभा सदस्य चुनावका लागि उम्मेदवारले १० हजार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर पनि आवश्यक पर्नेछ । महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा यो धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।
आयोगले यसअघि समानुपातिक तर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । कूल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिकमा १ सय १० जना चयन हुनेछन् भने प्रत्यक्ष प्रणालीमार्फत १ सय ६५ निर्वाचित हुने व्यवस्था छ ।
यसैबिच आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आग्रह गरेको छ। आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ ।
भीडभाड कम गराउने र उम्मेदवारी दर्ता सहज बनाउने उद्देश्यले समय निर्धारण गरिएको आयोगले प्रष्ट पारेको छ। चुनाव सुरक्षाका लागि प्रहरी छनोटको प्रक्रिया शुरु गरिसकेको छ। अधिकांश राजनीतिक दलले उम्मेदवार छनोट गरिसकेका छन् भने छनोट गर्न बाँकी भएकाले पनि आज बिहानसम्म सबै सक्ने छन्।