काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले टुंग्याएका उम्मेदवारलाई लिएर चर्को विवाद भइरहेको छ ।
आइतबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो । रास्वपाले समानुपातिक उम्मेदवार छान्दा प्राइमरी इलेक्सन गराएको थियो। तर बढी मत ल्याएका आकांक्षीहरु नै उम्मेदवारीमा नपरेपछि अधिकांश क्षेत्रमा विरोध भइरहेको छ ।
कैलालीका ५ क्षेत्र मध्ये अधिकांश क्षेत्रमा पार्टीको मुल्य मान्यता विपरित गइ टिकट वितरण भएको भन्दै नेताहरुले विरोध जनाइरहेका छन् । कैलाली क्षेत्र नं १ मा सुदूरपश्चिम प्रदेश सभापति ई. प्रकाश विष्टको विकल्पमा कोमल ज्ञवालीलाई टिकट दिइएको भन्दै नेताहरु असन्तुष्ट बनेका छन् ।
त्यस क्षेत्रका पदाधिकारीसँग छलफल नै नगरि एकलौटी निर्णय गरेको भन्दै नेताहरुले निर्णय फिर्ता नगरे जनविरोध गर्ने चेतावनी नै दिएका छन् । ज्ञवाली नागरिक उन्मुक्ति पार्टी (नाउपा) को असन्तुष्ट पक्षबाट रास्वपा प्रवेश गरेकी हुन् ।
तर, रास्वपा सुदूरपश्चिम प्रदेशका सभापति विष्ट क्षेत्र नम्बर १ बाट सर्वसम्मत जस्तै हुन् । उनले पार्टीको स्थापनाकालदेखि नै संगठन निर्माण र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै त्यस क्षेत्रका पदाधिकारीले विष्टको एकल सिफारिस गरेको टीकापुर नगरसचिव सिद्धार्थ साउँदले जानकारी दिए ।
टीकापुर नगर समिति, जानकी र जोशीपुर गाउँ समिति तथा क्षेत्रीय समिति सभापतिहरुले पुनः केन्द्रलाई प्रदेश सभापतिको एकल सिफारिस गरेका छन् ।
जान्नेलाई छान्नेको नारा लिएर उदाएको रास्वपाले पनि पुराना दल सरह गोजीबाट टिकट वितरण गरेको भन्दै नेता कार्यकर्ताहरुले तत्काल निर्णय सच्याउन माग गरेका छन् ।
You sent