काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र विधि, विधान र पद्धति स्थापित भएको उल्लेख गर्दै सबैलाई एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् ।
शुक्रबार राति एक प्रेस विज्ञप्ति जारी गर्दै थापाले विशेष महाधिवेशन कुनै विवादको विषय नभएको र निर्वाचन आयोगले संविधान, प्रचलित कानुन तथा पार्टी विधानअनुसार निर्णय गरेको बताएका छन् ।
आयोगको निर्णयलाई उनले कांग्रेसमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरिएको इमानदार प्रयासको साझा प्रतिफलका रूपमा व्याख्या गरेका छन् ।
थापाले पार्टी अब नेताको चाहनाले मात्र नभई आम सदस्यको चाहनाले चल्ने स्पष्ट गर्दै कांग्रेस आफ्ना मूल मूल्य, मान्यता र आदर्शमा फर्किएको दाबी गरेका छन् । विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका, सहमत वा असहमत सबै नेता–कार्यकर्तालाई यो विषयलाई जित–हारको रूपमा नलिई संयमित र जिम्मेवार बन्न आग्रह गरेका छन् ।
उनले अब कांग्रेस नवीन ऊर्जा र एकतासहित रूपान्तरणको दिशामा अघि बढिसकेको र रिफर्मको यात्रा सुरु भइसकेको बताएका छन् । आगामी निर्वाचनमा उच्च आत्मविश्वासका साथ एकढिक्का भएर लाग्नुपर्ने उनको भनाइ छ ।
थापाले शेरबहादुर देउवालगायत पार्टीका विभिन्न तहका नेताहरूले यो लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा स्वीकार गर्दै साथ दिने विश्वास व्यक्त गरेका छन् । अब कांग्रेसमा कुनै गुट नरहने, गुटगत भागबण्डा नहुने र जिम्मेवारी फरक भए पनि सदस्य र सभापतिको हैसियत समान हुने उनले बताएका छन् ।
नेपाली कांग्रेस आम नागरिकको सार्वजनिक पुँजी भएको उल्लेख गर्दै थापाले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्मालोचना गरिएको र उपलब्धिलाई समयअनुसार संस्थागत गर्ने सङ्कल्प लिइएको जनाएका छन् ।
अब कांग्रेस बदलिएको र अझ बदलिने दाबी गर्दै उनले मूल्य र सिद्धान्त विपरीत कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।