काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकताको विवाद छिटो टुंग्याउन निर्वाचन आयोगमाथि समयको चर्को दबाब परेको छ । नेपाली कांग्रेसको दुवै समूहका नेताहरू एकपछि अर्को गर्दै निर्वाचन आयोगमा पुगेर दबाब बढाइरहेका छन् ।
ज्ञापनपत्र बुझाउनेदेखि ध्यानाकर्षण गराउने क्रममा उनीहरूले श्रृङखलाबद्ध रूपमा आयोगका पदाधिकारीहरू भेटिरहेका छन् । भृकुटीमण्डपमा विशेष महाधिवेशन हुनासाथ गगन–विश्व समूहले निर्वाचन आयोगमा आफूहरूको विशेष महाधिवेशन भइरहेको भनेर जानकारी गराएको थियो ।
नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टी विधानले कुनैपनि प्रकारको अधिवेशन तथा महाधिवेशन आयोजना गर्ने सम्पूर्ण अधिकार केन्द्रिय कार्यसमितिलाई मात्र दिएको दाबी गरेको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रवार पत्रकार सम्मेलनको गर्दै पार्टी विधानअनुसार पार्टीका कुनैपनि पदाधिकारी वा सदस्यलाई विशेष महाधिवेशन बोलाउने अधिकार नरहेको स्पष्ट पारेका छन् ।
।
पत्रकारसम्मेलन गर्नु अगाडि उनले विशेष महाधिवेशनमा सहभागी रहने भनिएका ८ सय ८५ हस्ताक्षरकर्ताहरुले विशेष महाधिवेशनबाट बाहिरिएको जानकारीसहितको हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको बताएका थिए ।
यस्तै निर्वाचन आयोगमा आधिकारितका दाबीका लागि पुग्नुभएका नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले गगन थापाको नेतृत्वमा जानेहरु पार्टीबाट चोइटिएर मात्रै गएको टिप्पणी गरेका छन् । उनले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउने अधिकार भए पनि त्यसको कार्यसूची, कार्यतालिका र कार्यविधि केन्द्रीय समितिले नै बनाउनुपर्ने विधानमा स्पष्ट व्यवस्था रहेको जिकिर गरेका छन् ।
वैधानिकताका विषयमा आरोप–प्रत्यारोप सुरु
नेपाली कांग्रेसका दुई समूहबिच पार्टीको वैधानिकताका विषयमा आरोप–प्रत्यारोप सुरु भएको छ ।
२०७८ सालमा भएको १४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा समूह र गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिएको विशेष महाधिवेशनबाट सभापतिमा सर्वसम्मत चयन भएका गगन थापा समूहबिच कांग्रेसको वैधानिकताका विषयमा आरोप–प्रत्यारोप शुक्रबार सार्वजनिक रूपमै सतहमा आएको हो ।
निर्वाचन आयोगले संविधान, कानुन, पार्टी विधान र नियमावली विपरित निर्णय गरेमा कांग्रेसले देशभर आन्दोलन गर्ने संस्थापन पक्षको चेतावनी छ । यसैबीच, गगन थापा नेतृत्वको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोगलाई पार्टीको विशेष महाधिवेशन आह्वान गर्नुपरेको अवस्थाबारे जानकारी गराएका छन् ।
पार्टीको केन्द्रीय समितिले विशेष महाधिवेशन मागकर्तालाई सम्बोधन गर्न नखोजेपछि आफूहरूले आह्वान गरेर सम्बोधन गरेको बताएका हुुन् । उनले शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले आफूहरूलाई गरेको कारबाही विधानसम्मत नभएको पनि आयोगका पदाधिकारीलाई जानकारी गराए ।
निर्वाचन आयोग परिसरको सुरक्षा व्यवस्था कडा
निर्वाचन आयोग परिसरको सुरक्षा व्यवस्थामा कडा पारिएको छ ।
आसन्न निर्वाचनको तयारीका लागि निर्वाचन आयोग परिसरमा चहलपहल बढिरहेका बेला नेपाली कांग्रेस विभाजनपछि आधिकारिकताका लागि दुई पक्षीय नेता–कार्यकता आउजाउ बाक्लिएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।
अहिले निर्वाचन आयोगको मुख्यद्वारमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ भने बाहिर ‘वाटर क्यानन’ पनि तयारी अवस्थामा राखिएको छ । शेरबहादुर देउवा नेतृत्वको कांग्रेस र गगन थापा नेतृत्वको कांग्रेसका नेताहरू निर्वाचन आयोग पुगेर आधिकारिकताको दाबी गरिरहेका छन् ।
दिउँसो थापा नेतृत्वको कांग्रेसका कार्यकर्ताहरू निर्वाचन आयोगमा धर्ना थिए । देउवा नेतृत्वको कांग्रेसका कार्यकर्ता,तरुण दलका अध्यक्ष विद्वान गुरुङसहितका नेता कार्यकर्ता पनि आयोग परिसरमा धर्ना दिन पुगेका थिए ।