काठमाडौँ । प्रधानमन्त्री सुशील कार्कीले लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन निष्पक्ष, पारदर्शी र विश्वसनीय निर्वाचन अपरिहार्य रहेको बताएका छन्। उनले निर्वाचन पैसाको खेल बन्न नहुने स्पष्ट पार्दै समाजका सबै तह र तप्काबाट सहयोगको अपेक्षा गरिएको बताए।
आज बिहान नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलसँग भएको भेटमा प्रधानमन्त्री कार्कीले देश निर्वाचनको चरणमा प्रवेश गरिसकेको उल्लेख गर्दै आगामी निर्वाचनमा नयाँ, युवा र इमानदार प्रतिनिधिहरू संसदमा पुग्नुपर्ने आवश्यकता औँल्याए। युवाको आकांक्षाअनुसारको नेतृत्व चयन समयको माग भएको उनको भनाइ थियो।
प्रधानमन्त्री कार्कीले निर्वाचनमा पैसाको प्रभाव रोक्न सरकार सचेत रहेको जनाउँदै समुदायस्तरबाट सबै नागरिकले स्वतन्त्र र निष्पक्ष मतदान प्रक्रियामा सहभागी हुनुपर्ने धारणा व्यक्त गरे।
भेटका क्रममा तमाङ समुदायको जनसंख्या, संस्कृति, आर्थिक तथा सामाजिक अवस्था लगायतका विषयमा विस्तृत छलफल भएको थियो। घेदुङका पदाधिकारीहरूले तामाङ समुदायको जनसंख्या ३० लाखभन्दा बढी भए पनि पछिल्लो जनगणनामा तथ्यांक त्रुटिका कारण करिब १६ लाख मात्र देखिनु गम्भीर विषय भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
त्यसैगरी, नेपाल तामाङ घेदुङले आगामी माघ ५ गते सोनाम ल्होछारको अवसरमा काठमाडौंमा आयोजना गर्न लागिएको तमाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन प्रधानमन्त्री कार्कीलाई आग्रह गरेको छ।
प्रधानमन्त्री कार्कीले सबै समुदायको पहिचान, अधिकार र समावेशी प्रतिनिधित्वप्रति सरकार संवेदनशील रहेको बताउँदै लोकतान्त्रिक अभ्यासलाई अझ बलियो बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे।