काठमाडौं । काठमाडौँको न्यूनतम तापक्रम लगातार दोस्रो दिन पनि बढेको छ। मौसम पूर्वानुमानकाअनुसार आज बिहान ५ः४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस मापन गरिएको छ ।
हिजो यो समयमा काठमाडौँको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस थियो। यद्यपि बिहान ८ः४५ बजे बिहीबार काठमाडौँको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस कायम भएको थियो।
यसअघि पुस ३० गते सुरुवाती मापनमा काठमाडौँको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस थियो भने पछि बिहान ८ः४५ बजे घटेर २.३ डिग्री सेल्सियस कायम भएको थियो।
मौसम महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन्। आज देशका तराई भूभागका केही स्थानहरूमा कुहिरो लागेको छ भने पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
त्यस्तै, आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
देशका तराई भूभागमा हुस्सुको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।