काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल चलिरहँदा महाधिवेशन मंगलबारसम्म लम्बिएको हो ।
आइतबारदेखि चलेको महाधिवेशन मंगलबारसम्म लम्बिएको विशेष महाधिवेशन प्रचार–प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंले जानकारी दिनुभयो । यस्तै नेतृत्व चयनपनि मंगलबार नै गरिने भएको छ ।
यसैबीचमहामन्त्री गगनकुमार थापाले पार्टीको विशेष अधिवेशनको बन्दसत्रमा सांगठानिक प्रतिवेदन पेश गर्दै साझा राष्ट्रिय समझदारी निर्माण आवश्यक रहेको उल्लेख गर्नुभएको छ । उहाँले प्रतिवेदनमा जेनजी विद्रोहको मूल भावना भ्रष्टाचार नियन्त्रण र सुशासनसँग जोडिएको उल्लेख गर्नुभयो ।
यसैगरि, महामन्त्री विश्वप्रकाश शर्माले दुई पटक भन्दा बढि प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा नै गर्नुपर्ने प्रश्ताव गर्नुभएको छ । बन्दसत्रमा सांगठानिक प्रतिवेदन पेश गर्दै शर्माले देश र पार्टी दुवै असफल हुने भएकाले एउटै व्यक्तिलाई २ पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने गरी आफूले यो प्रस्ताव गर्नु परेको बताउनु भयो । उहाँले राट्रपति पनि एक पटक भन्दा बढी बन्न नपाउने गरी प्रस्ताव ल्याउने बताउनुभएको छ ।
महामन्त्रीद्वयको अगुवाइमा काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विधान महाधिवेशनमा सोमबार बन्दसत्र जारी छ । विशेष महाधिवेशनअन्तर्गत सोमबार बिहानदेखि सुरू भएको बन्दसत्रका क्रममा ९ वटा समूहले छलफल गरेर निष्कर्ष दिइसकेका छन् ।
अब त्यो निष्कर्ष महामन्त्रीद्वय थापा र शर्मालाई बुझाउने तयारी भएको छलफलमा सहभागी एक नेताले बताएका छन् । समूहबाट पार्टी फुटाउने भन्दा पनि रुपान्तरणको आवश्यक्ता रहेको निष्कर्ष निकालिएको छ । समूहबाट चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति भंग गरेर जानुपर्ने सङ्कल्प प्रस्ताव विशेष महाधिवेशनले पारित गरेर जानुपर्नेबारे छलफलसहित प्रतिवेदन दिइएको छ ।
यसैबीच, नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा एकताका साथ अगाडि बढ्न सबैलाई आग्रह गर्नुभएको छ । कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूको आह्वानमा भृकुटीमण्डमा विशेष महाधिवेशनको बन्दसत्र चलिरहेको परिस्थितिमा उहाँले विज्ञप्ति निकालेर पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्नसमेत आग्रह गर्नुभएको हो ।
कार्यवाहक सभापति खड्काले देशको विषम परिस्थितिप्रति गम्भीर हुँदै पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरुरी रहेको उल्लेख गर्नुभएको छ । कांग्रेसले देशमा विषम परिस्थिति उत्पन्न भएका विभिन्न कालखण्डमा परिस्थितिको सही मूल्याङ्कन गरि आफ्नो नेतृत्वमा उचित निकास दिएको इतिहास रहेको उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।