काठमाडौं । राष्ट्रियसभा सदस्य चुनावका लागि आज देशभर उम्मेदवारको मनोनयन दर्ता भएको छ ।
निर्वाचन आयोगले आउँदो माघ ११ गते लागि राष्ट्रियसभा सदस्य चुनाव गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि चुनाव हुन लागेको हो । राष्ट्रिय सभामा आउँदो फागुन २० गतेदेखि १९ जना सांसद बिदा हुँदैछन् । त्यसमध्ये १८ सिटका लागि आज मनोनयन भएको हो ।
निर्वाचन आयोगले यसअघि गएको पुस १९ गते प्रकाशन गरेको तालिका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम थियो । आयोगका अनुसार भोलि उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र त्यसै दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
पुस २८ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ ।
आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ । राष्ट्रियसभा सदस्य चुनावमा प्रदेशसभा र स्थानीय तह (पालिका) का मेयर र उपमेयर, अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन् ।
राष्ट्रियसभा चुनावमा कांग्रेस, एमाले र जनता समाजवादी पार्टी नेपाल (जसपा) बिच तालमेल भएको छ । यसअघि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सहित तालमेलको प्रयास भए पनि अन्तिममा नेकपा गठबन्धनबाट अलग भएको छ ।
कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट लिने सहमति बनेको नेताहरुले बताएका छन् । त्यसअनुसार जसपा नेपालबाट महन्थ ठाकुरले उमेद्वारी दर्ता गराएका छन् ।
कांग्रेस र एमालेका उम्मेदवारले पनि आज नाम दर्ता गराएका छन् । यस्तै नेकपा उम्मेदवारले पनि आज नाम दर्ता गराएका छन् । तर कोशी प्रदेशबाट अन्यतर्फ नेकपा उम्मेदवार नै नआएपछि नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
निर्विरोध भएको घोषणा भने पुस २७ गते हुनेछ ।