काठमाडौं । आउँदो फेब्रअरी ७ तारिख अर्थात् माघ २४ गतेदेखि फागुन २४ गतेसम्म भारत र श्रीलंकामा हुने आइसीसी पुरुष टी–२० विश्वकपका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकपका लागि हिजो रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको छ। बन्द प्रशिक्षणमा रहेका २४ जना खेलाडी मध्येबाट ९ जना खेलाडी अन्तिम छनोटबाट बाहिरिएका छन् ।
दीपेन्द्र सिंह ऐरी उपकप्तान रहेको टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुलशन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम परेका छन्। बन्द प्रशिक्षणमा रहेका कुशल मल्ल, आदिल अन्सारी, विनोद भण्डारी, भीम सार्की, साहब आलम, इशान पाण्डे, अभिनास बोहरा, प्रतिश जिसी र रुपेशकुमार सिंह विश्वकप टोलीमा पर्न सकेनन् ।
दुई महिना अघि ओमानमा भएको विश्वकप छनोट टोलीमा रहेका कुशल मल्ल र आदिल अन्सारी विश्वकप टोलीमा परेनन् । उनीहरूको ठाउँमा बसिर अहमद र शेर मल्लले टोलीमा स्थान बनाएका छन् । गएको महिना सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को प्रदर्शनका आधारमा प्रशिक्षणमा परेका उनीहरू अन्तिम १५ मा पर्न सफल भएका हुन् ।
नेपालले विश्वकप क्रिकेटको समूह चरणमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीको सामना गर्नेछ। आउँदो माघ २५ गते इंग्ल्यान्डसँग खेल्दै नेपालले विश्वकपको यात्रा शुरू गर्नेछ । अन्तिम खेल नेपालले बंगलादेशसँग फेब्रअरी १७ अर्थात् फागुन ५ गते खेल्नेछ ।
नेपाल समूह चरणका आफ्ना सबै खेल भारतको मुम्बईमा रहेको वाङ्खडे मैदानमा खेल्नेछ। नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी–२० विश्वकप खेल्दैछ । तेस्रो पटक नै विश्वकप खेल्ने नेपाली टोलीबाट सोमपाल कामी एक्लो नेपाली खेलाडी बन्नेछन् ।
