इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा आर्सनलले बर्नमाउथलाई ३–२ गोलअन्तरले पराजित गर्दै शीर्षस्थान बलियो बनाएको छ। बर्नमाउथको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा डेक्लान राइस आर्सनलका नायक बने।
आर्सनलको जितमा राइसले दुई गोल गर्दा गाब्रियल मागाल्सले एक गोल गरे। घरेलु टोली बर्नमाउथका लागि इभालिन्सन र एली जुनियर क्रुपीले एक–एक गोल गरे।
खेलको सुरुवातमै बर्नमाउथले आक्रामक प्रदर्शन गर्दै १०औं मिनेटमा इभालिन्सनको गोलमार्फत अग्रता लिएको थियो। तर आर्सनलले छिट्टै प्रतिक्रिया दियो। १६औं मिनेटमा गाब्रियलले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।
दोस्रो हाफमा आर्सनल पूर्ण रूपमा हाबी देखियो। ५४औं र ७१औं मिनेटमा डेक्लान राइसले दुई उत्कृष्ट गोल गर्दै आर्सनललाई ३–१ को अग्रतामा पुर्याए। ७६औं मिनेटमा क्रुपीले गोल गर्दै बर्नमाउथलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यसपछि कुनै गोल हुन सकेन।
घुँडाको समस्याका कारण अघिल्लो गेमविकमा अनुपस्थित रहेका राइसले यस खेलमा म्याच-विनिङ प्रदर्शन गर्दै आफ्नो महत्व प्रमाणित गरे।
यस जितसँगै लिगको शीर्षस्थानमा रहेको आर्सनलले २० खेलबाट ४८ अंक पुर्याएको छ र दोस्रो स्थानको एस्टन भिल्लामाथि ६ अंकको अग्रता बनाएको छ। एस्टन भिल्लाको ४२ अंक छ भने १९ खेल खेलेको म्यानचेस्टर सिटी ४१ अंकसहित तेस्रो स्थानमा छ।
पराजयपछि बर्नमाउथ २० खेलबाट २३ अंक जोड्दै तालिकाको १५औं स्थानमा छ।
गएराति भएका अन्य खेलमा वुल्भ्सले वेस्ट ह्यामलाई ३–० ले हराउँदा ब्राइटनले बर्नलीलाई २–० ले पराजित गरेको छ।