नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि वार्षिक क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ। शनिबार सार्वजनिक क्यालेन्डरमा पुरुषतर्फ विगतका वर्षहरूकै निरन्तरता देखिएको छ भने नयाँ प्रतियोगिताहरू थपिएका छैनन्।
क्यालेन्डर अनुसार क्यानको मुख्य ध्यान पुरुष सिनियर टोलीलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रतिस्पर्धी बनाउनेतर्फ केन्द्रित देखिन्छ। विशेषगरी टेस्ट राष्ट्रसँग नेपालमै खेल आयोजना गर्ने लक्ष्यसहित क्यालेन्डर तयार गरिएको क्यानले जनाएको छ।
क्यानका सचिव पारस खड्काका अनुसार वर्षा सुरु हुनुअघि कम्तीमा दुईवटा टेस्ट राष्ट्रलाई नेपालमा बोलाएर खेल आयोजना गर्ने प्रयास भइरहेको छ।
“नेपालले टेस्ट राष्ट्रसँग खेल्ने वा नखेल्ने भन्ने विषयमा धेरैको चासो छ। वर्षा सुरु हुनुअघि नेपालमै कम्तीमा दुई टेस्ट राष्ट्रसँग खेलाउने हाम्रो प्रयास छ,” खड्काले भने।
उनका अनुसार वर्षायाम (जुन–अगस्ट) मा घरेलु खेल कठिन हुने भएकाले त्यस अवधिमा अवे सिरिजमा बढी ध्यान दिइएको छ।
विश्वकप केन्द्रित सुरुआत, त्यसपछि एकदिवसीय प्राथमिकता
क्यालेन्डर अनुसार पुरुष टोलीले फेब्रुअरीमा टी–२० विश्वकप खेल्नेछ। हालसम्म विश्वकपअघि कुनै द्विपक्षीय शृंखला तय भइसकेको छैन। महिला विश्वकपको ग्लोबल छनोट नेपालमै आयोजना हुने भएकाले संरचनागत कारणले अन्य टोली बोलाएर शृंखला गर्ने अवस्था नरहेको क्यानको भनाइ छ।
विश्वकपपछि मार्च महिनामा नेपालले घरेलु मैदानमै लिग–२ शृंखला खेल्नेछ। उक्त शृंखलाको आसपासमा टेस्ट राष्ट्रसँग ५० ओभरको द्विपक्षीय शृंखला खेलाउने लक्ष्य क्यानले लिएको छ।
गत वर्ष टी–२० विश्वकप छनोट केन्द्रमा रहे पनि यसपटक एकदिवसीय क्रिकेटलाई पनि समान प्राथमिकतामा राखिएको क्यानले जनाएको छ।
‘ए’ टिम र दीर्घकालीन टोली निर्माणमा जोड
अप्रिल महिनामा नेपाल ‘ए’ टोलीका लागि शृंखला खेलिने उल्लेख छ। ए टिमको विकासलाई दीर्घकालीन योजनाको रूपमा अघि बढाइएको क्यान सचिव खड्काले बताएका छन्।
“ए टिमलाई अझ धेरै एक्सपोजर दिने लक्ष्य छ। सिनियर टोलीसँग खेल्न आउने अन्तर्राष्ट्रिय टिमसँगै ए टिमका खेलाडीले पनि मौका पाउनेछन्,” उनले भने, “यसले भविष्यको सिनियर टिम निर्माणलाई स्पष्ट आधार दिन्छ।”
अवे सिरिज, एसीसी कप र टप एन्ड सहभागिता
मे महिनामा नेपालले बाहिर गएर लिग–२ शृंखला खेल्नेछ। त्यसपछि एक टेस्ट राष्ट्रसँग टी–२०आई द्विपक्षीय शृंखला खेलाउने प्रयास भइरहेको छ। जुन १ देखि १५ सम्म उक्त शृंखलाका लागि समय छुट्याइएको छ।
वर्षायामका कारण जुन, जुलाई र अगस्टमा अवे सिरिजमा फोकस गरिएको छ। अगस्टमा एसीसी प्रिमियर कप प्रस्तावित छ भने कुवेतसँग सम्झौताअनुसार द्विपक्षीय शृंखला खेलिनेछ।
यसैगरी गत वर्ष पहिलोपटक सहभागी भएको अस्ट्रेलियन ‘टप एन्ड टी–२०’ सिरिजमा नेपालले यसपटक पनि सहभागिता जनाउनेछ।
“टप एन्डमा सहभागी भएपछि सकारात्मक प्रतिक्रिया आएकोले निरन्तरता दिएका हौं,” सचिव खड्काले बताए।
सेप्टेम्बरमा नेपालले विदेशमै अर्को द्विपक्षीय शृंखला खेल्ने तयारी गरिरहेको छ। अक्टोबरमा भने नेपालमै लिग–२ शृंखला आयोजना हुनेछ।
एनपीएल अगाडि सारियो, घरेलु क्रिकेट निरन्तर
घरेलु क्रिकेटतर्फ पीएम कप र जय ट्रफी निरन्तर सञ्चालन हुनेछन्। पीएम कपको जिल्ला र प्रदेश चरण जनवरी–फेब्रुअरीमा हुने छ भने राष्ट्रिय प्रतियोगिता मार्च–अप्रिलमा हुनेछ। फेब्रुअरीमा जय ट्रफी दुई-दिवसीय प्रतियोगिता आयोजना गरिनेछ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण यसपटक अक्टोबरमै हुने तय भएको छ।
“दशैंताका लिग–२ सकिएपछि एनपीएल आयोजना गर्ने तयारी छ,” खड्काले जानकारी दिए।
विद्यालयदेखि राष्ट्रिय टिमसम्मको योजना
क्यालेन्डर अनुसार नेशनल स्कूल च्याम्पियनसिप यस वर्ष पनि आयोजना हुनेछ। फेब्रुअरीमा जिल्ला, मार्चमा प्रदेश र मेमा राष्ट्रिय चरण हुने छ। यसबाट छानिएका खेलाडीलाई एसीसी यू–१६ इस्ट जोन कपका लागि तयारी गरिने क्यानको योजना छ।
यसका साथै अप्रिलमा यू–१९ राष्ट्रिय प्रतियोगिता र क्यान युथ कप पनि आयोजना गरिने उल्लेख गरिएको छ।