काठमाडौं । इस्वी संवतको नयाँ वर्ष सन् २०२६ आजबाट शुरू भएको छ। येशु ख्रिस्टको जन्म वर्षलाई आधार मानेर विकसित गरिएको ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्ष मनाउने चलन विश्वव्यापी रूपमा फैलिँदै गएको छ।
विश्वका विभिन्न देश र शहरहरूमा हर्षोल्लासका साथ नयाँ वर्षको स्वागत गरिएको छ। नयाँ वर्षको अवसरमा युरोप, अमेरिका, एशिया, अफ्रिका र अस्ट्रेलियाका प्रमुख शहरहरूमा विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएका छन् ।
जापान, दक्षिण कोरिया, चीन र दक्षिणपूर्व एशियाका शहरहरूमा परम्परा र आधुनिक उत्सवको संयोजनसहित नयाँ वर्ष मनाइएको छ ।
नेपालमा पनि पछिल्ला वर्षहरूमा अङ्ग्रेजी नयाँ वर्ष मनाउने चलन बढ्दो छ। नयाँ वर्षको अवसरमा नेपालमा शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।
काठमाण्डौको ठमेल, बौद्ध, ललितपुर तथा पोखरा, सौराहा जस्ता पर्यटकीय क्षेत्रमा सांगीतिक कार्यक्रम, सांस्कृतिक प्रस्तुतिमार्फत सन् २०२६ को स्वागत गरिएको छ ।
विदेशी पर्यटकको बाक्लो उपस्थितिले यी क्षेत्रहरू झनै चहलपहलपूर्ण बनेका छन् । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंका ठमेल, बौद्ध, न्यूरोड लगायत स्थानमा हिजो बेलुकी नै ‘न्यू इयर इभ’ को रुपमा विशेष चहलपहल देखिएको थियो ।