काठमाडौं । गीतको प्रतिलिपि अधिकार खरिद गरेको दाबी गर्ने सगरमाथा डिजिटलविरुद्ध गीतकारहरूले प्रतिलिपि अधिकार उल्लंघनको आरोप लगाएपछि विवाद अदालतसम्म पुगेको छ।
सगरमाथा डिजिटलका सञ्चालक हिराबहादुर केसीले सर्जकसँग कानुनी रूपमा सम्झौता गरेर गीतका आर्थिक तथा व्यावसायिक अधिकार आफूहरूले प्राप्त गरेको दाबी गरेका छन्। उनका अनुसार ७ साउन २०६९ मा गीतकार सरोज केसीसँग भएको सम्झौतामा ‘तिमीले पराई ठानेपछि’, ‘किन आउँछ तिम्रो याद’ र ‘तिम्रो दिलमा चोट लाग्दा’ लगायतका गीतको उत्पादन, प्रकाशन तथा बिक्री-वितरणसम्बन्धी अधिकार हस्तान्तरण गरिएको थियो।
सम्झौतामा तत्कालीन भौतिक तथा डिजिटल प्रविधिसहित भविष्यमा प्रयोगमा आउन सक्ने प्रविधिमा समेत गीतलाई पुनः उत्पादन, प्रकाशन तथा बिक्री-वितरण गर्न पाउने व्यवस्था रहेको सगरमाथा डिजिटलको भनाइ छ। सगरमाथा डिजिटलका अनुसार उक्त सम्झौताबापत गीतकार सरोज केसीलाई २५ हजार रुपैयाँसमेत भुक्तानी गरिएको थियो।
तर गीतकार सरोज केसी र शशि शर्मा मजगैयाँले आफूहरूको प्रतिलिपि अधिकार उल्लंघन भएको दाबी गरेका छन्। आफूहरूले सिर्जना गरेका गीतबाट भएको आम्दानीको विवरण नदिएको र सम्झौताका विषयमा आफूहरूलाई झुक्याइएको उनीहरूको आरोप छ। यही विवादपछि सगरमाथा डिजिटलविरुद्ध प्रतिलिपि अधिकार उल्लंघनसम्बन्धी मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ। सर्जक पक्षले ९५ लाख रुपैयाँ बिगो तथा क्षतिपूर्तिको माग गरेको छ।
गीतकार शशि शर्मा मजगैयाँले ‘तिम्रै यादमा’ र ‘तिम्रो माया मेरो माया’ बोलका गीतसमेत अनुमतिबिना प्रयोग गरिएको आरोप लगाएका छन्। उनको दाबीअनुसार सगरमाथा डिजिटलले ती गीतबाट अनधिकृत रूपमा आर्थिक आम्दानी गरेकाले त्यसको बिगो तथा क्षतिपूर्ति पाउनुपर्ने माग गरिएको छ। तर सगरमाथा डिजिटलले मजगैयाँसँग पनि ६ मंसिर २०६८ मा सम्झौता भएको जनाएको छ। उक्त सम्झौताअनुसार ५ हजार रुपैयाँमा गीतको प्रतिलिपि अधिकार खरिद गरिएको कम्पनीको दाबी छ।
मजगैयाँसँग भएको भनिएको सम्झौतामा गीतको सम्पूर्ण अधिकार सगरमाथा डिजिटलको हुने र डिजिटल तथा भौतिकलगायत जुनसुकै प्रविधिबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा बिक्री–वितरण गर्दा प्राप्त रकममा गीतकारले दाबी गर्न नपाउने उल्लेख रहेको कम्पनीले जनाएको छ।
सगरमाथा डिजिटलका सञ्चालक केसीले आफूहरूले प्रक्रिया पूरा गरेर स्पष्ट रूपमा प्रतिलिपि अधिकार खरिद गरेको दाबी गरेका छन्। सम्झौतामै अधिकार हस्तान्तरण गरिएको अवस्थामा पुनः प्रतिलिपि अधिकार उल्लंघनको आरोप लगाएर मुद्दा चलाउनु आफूहरूमाथि अन्याय भएको उनको भनाइ छ। तर सर्जक पक्षले भने सम्झौताका आधारमा मात्रै आफूहरूको सिर्जनाबाट भएको आम्दानी र प्रतिलिपि अधिकारसम्बन्धी सबै विवाद समाप्त नहुने दाबी गर्दै आएको छ।
अब अदालतमा विचाराधीन मुद्दामा भएका सम्झौताका वास्तविक प्रावधान, अधिकार हस्तान्तरणको कानुनी प्रभाव, गीतबाट भएको आम्दानी र सर्जकको दाबीबीचको विवाद कसरी टुंगिन्छ भन्ने विषय महत्वपूर्ण बनेको छ। फैसला नभएसम्म दुवै पक्षका दाबीलाई दाबीका रूपमा नै बुझ्नुपर्ने हुन्छ।