एजेन्सी । युक्रेनको राजधानी किभमा रुसी सेनाले गरेको आक्रमणबाट करिब २५ प्रतिशत इन्टरनेट पूर्वाधारमा क्षति पुगेको रुसी पक्षले दाबी गरेको छ।
रुसी सुरक्षा निकायका एक स्रोतलाई उद्धृत गर्दै तास समाचार एजेन्सीले जनाएअनुसार, किभस्थित डेटा सेन्टरलाई लक्षित गरी गरिएको पछिल्लो आक्रमणले युक्रेनको डिजिटल तथा सञ्चार पूर्वाधारमा असर पारेको हो। रुसी पक्षका अनुसार आक्रमणपछि युक्रेनका केही क्षेत्रमा टेलिभिजन प्रसारणमा आंशिक अवरोध आएको छ। सामाजिक सञ्जाल तथा भिडियो सेवाहरूमा समेत समस्या देखिएको र किभका केही बासिन्दाले युट्युबसहितका अनलाइन सेवामा पहुँच गर्न कठिनाइ भोगेको दाबी गरिएको छ।
किभस्थित कोस्मोनोभा डेटा सेन्टरले पनि शनिबार आफ्ना मुख्य पूर्वाधारमा क्षति पुगेको जनाएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार कम्पनीले इन्टरनेट ट्राफिकलाई अन्य स्थानतर्फ मोड्ने र ब्याकअप पूर्वाधारबाट डेटा पुनःस्थापना गर्ने काम गरिरहेको छ।पछिल्ला केही सातादेखि युक्रेनका डेटा सेन्टर तथा दूरसञ्चार पूर्वाधारलाई लक्षित गरी आक्रमण बढेको रिपोर्ट सार्वजनिक भएका छन्। सेप्टेम्बर २३ मा मात्रै चारवटा डेटा सेन्टरमा आक्रमण भएको र त्यसबाट केही सञ्चार तथा डिजिटल सेवामा अवरोध आएको बताइएको छ।
रुसी रक्षा मन्त्रालयले कोस्मोनोभा डेटा सेन्टरलाई लक्षित गरिएको पुष्टि गर्दै उक्त पूर्वाधारबाट मोबाइल इन्टरनेट सेवा तथा स्टारलिंकसम्बन्धी सहयोग उपलब्ध भइरहेको दाबी गरेको छ। यद्यपि, युक्रेनको इन्टरनेट सेवा पूर्णरूपमा ठप्प भएको अवस्था भने नरहेको बताइएको छ। विभिन्न इन्टरनेट प्रदायक तथा वैकल्पिक सञ्चार मार्गहरू रहेकाले केही डेटा सेन्टरमा क्षति पुग्दैमा देशव्यापी रूपमा इन्टरनेट बन्द नहुने विज्ञ तथा सेवा प्रदायकहरूको भनाइ छ।
डेटा सेन्टरमा भएको क्षतिले सर्वसाधारणको दैनिक इन्टरनेट प्रयोगसँगै समाचार तथा सूचना प्रवाहमा समेत असर पार्न सक्छ। पछिल्लो आक्रमणपछि केही टेलिभिजन च्यानलको प्रसारण प्रभावित हुनुका साथै केही समाचार वेबसाइटमा भिडियो सामग्री सञ्चालनमा समस्या देखिएको रिपोर्ट गरिएको छ।
रुस-युक्रेन युद्धमा पछिल्लो समय ऊर्जा, रेल, दूरसञ्चार र डिजिटल पूर्वाधारसमेत आक्रमणको निशानामा पर्दै आएका छन्। किभमा भएको पछिल्लो घटनाले युद्धको असर सैन्य संरचनाबाट नागरिकले दैनिक प्रयोग गर्ने सञ्चार तथा डिजिटल सेवासम्म पुगेको देखाएको छ।
तर युक्रेनको २५ प्रतिशत इन्टरनेट पूर्वाधार नष्ट भएको रुसी पक्षको दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन। त्यसैले उक्त तथ्यांकलाई रुसी पक्षको दाबीका रूपमा मात्र लिनुपर्ने हुन्छ।