काठमाडौं । कर्णाली प्रदेशमा लगातार भइरहेको वर्षाका कारण ६ जिल्लाका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। वर्षासँगै पहिरो खस्ने, लेदो बग्ने तथा सडक कटान हुने क्रम बढेपछि कालीकोट, सल्यान, हुम्ला, जाजरकोट, जुम्ला र मुगुका सडकमा यातायात सेवा प्रभावित भएको छ।
कर्णाली प्रदेश प्रहरीका अनुसार कालीकोटको शुभकालिका गाउँपालिका-१ स्थित गगनेखोलामा पहिरो खसेपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ। त्यस्तै, सल्यानको कपुरकोट गाउँपालिका-१ खारखोला तथा वडा नम्बर ३ र ४ को अरिङ्गालेमा पहिरो खस्दा राप्ती राजमार्ग प्रभावित भएको छ।
जुम्लाको तातोपानी गाउँपालिका-१ राँकामा पहिरो खसेपछि कर्णाली राजमार्गअन्तर्गत जुम्ला–नाग्मा सडकखण्ड पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ। यता, हुम्लाको सर्केगाड गाउँपालिका-१ खच्चामा पहिरोसँगै लेदो सडकमा थुप्रिएपछि कर्णाली करिडोरको यातायात प्रभावित भएको छ। वर्षाका कारण सडकमा माटो र लेदो थुप्रिँदा सवारी आवागमनमा समस्या भएको प्रहरीले जनाएको छ।
मुगुको छायानाथ रारा नगरपालिका-७ र ८ अन्तर्गत पिना-ताल्चा सडकखण्डमा पहिरो खसेपछि नाग्मा-गमगढी सडक पनि अवरुद्ध भएको छ। यो सडकखण्डसमेत कर्णाली करिडोरअन्तर्गत पर्छ। जाजरकोटका विभिन्न सडकखण्डमा पनि लगातारको वर्षाका कारण यातायात सेवा प्रभावित भएको प्रहरीले जनाएको छ।
वर्षा नरोकिँदा कर्णालीका पहाडी तथा हिमाली क्षेत्रमा पहिरो, लेदो र सडक कटानको जोखिम बढेको छ। सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिने अवस्था सिर्जना भएको छ भने दैनिक आवागमनसमेत प्रभावित भएको छ।
अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ। प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार वर्षाका कारण अवरुद्ध सडकको अवस्था बुझ्ने र यातायात सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको छ।