काठमाडौं । आगामी मंसिर ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक गरिएको छ ।
गण्डकी क्षेत्रमा प्रचलित कौडा शैलीमा तयार पारिएको गीतमा एसडी योगी र रेश्मा पुनको स्वर रहेको छ । सुरेन्द्र रानाको शब्द रहेको गीतमा एसडी योगीको संगीत तथा रिकेश गुरुङको संगीत निर्माण छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार उपासना सिंह ठकुरी र सोनम तोप्देनलाई मगर समुदायको पहिरनमा प्रस्तुत गरिएको छ । भिडियोमा उनीहरूबीचको प्रेमभावलाई केन्द्रमा राखिएको छ ।
सुरेन्द्र राई, सुसन तामाङ र शेखर घर्ती मगरको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका अन्य कलाकार अस्तित्व भट्टचन, राजु रेग्मी मगर, दीपिका मगरलगायत पनि देखिएका छन् ।n अशोक थापा मगरको निर्देशनमा बनेको ‘जलाकी’मा उपासना र सोनमसँगै शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर, भावना मगर, माओत्से गुरुङ, बुद्धि तामाङ, उषा खड्गी र खड्कबहादुर पुनलगायत कलाकारको अभिनय छ । अभिनेता तथा क्याप्टेन विजय लामा फिल्ममा विशेष भूमिकामा छन् ।
एम मिडिया प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता बेताने मगर (बबिता राना), ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।
फिल्मको लेखन निर्देशक अशोक थापा मगरले गरेका हुन् । शैलेन्द्र डी कार्कीको छायांकन, अशोक थापा मगरको सम्पादन तथा सरित रयान र एसडी योगीको संगीत रहेको ‘जलाकी’ मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।