काठमाडौँ । सडकमा भोक, रोग र दुर्घटनासँग जुधिरहेका आश्रयविहीन कुकुरहरूका लागि 'अनिकेत कपाली' एउटा नाम मात्र होइन, आशाको आधार बनेका छन् । घाइते, कमजोर र बेवास्तामा परेका कुकुरहरूलाई देख्दा आँखा नफर्काई, उनी मौन रूपमा सहयोगमा जुट्छन् ।
सडक दुर्घटनामा परेका कुकुरहरूको उपचारदेखि नियमित रूपमा खाना खुवाउने र आवश्यक परे सुरक्षित स्थानमा पुर्याउने काममा उनी निरन्तर सक्रिय देखिन्छन् । पशु पीडामा मौन बस्नु पनि हिंसा हो भन्ने मान्यतालाई आत्मसात् गर्दै, कर्मबाट करुणा देखाउने अभ्यास गरिरहेका छन् ।
उनको योगदान कुनै संस्था वा औपचारिक अभियानमा सीमित छैन । व्यक्तिगत पहलमा गरिएको उपचारको व्यवस्था, औषधि, समय र हेरचाह-यी सबैले पशुप्रति उनको गहिरो संवेदनशीलता उजागर गर्छ । विशेषगरी उपचार नपाएर छटपटाइरहेका कुकुरहरूका लागि उनी अन्तिम सहारा बन्ने गरेका छन् । आज जब धेरै मानिस व्यस्तता र उदासीनताका कारण सडकका प्राणीहरूलाई नजरअन्दाज गर्छन्,अनिकेतको निरन्तर प्रयासले समाजलाई एउटा गम्भीर प्रश्न सोधिरहेको छ- के करुणा देखाउन ठूलो अभियान चाहिन्छ, कि केवल मन ?
पशु अधिकार र कल्याणको क्षेत्रमा सरकारी तथा संस्थागत प्रयाससँगै व्यक्तिगत तहमा देखिने यस्ता सक्रियताले समाजमा सकारात्मक सन्देश फैलाएको छ । अनिकेत जस्ता व्यक्तिहरूले देखाएको बाटोले पशुप्रेम भावना मात्र होइन, नागरिक जिम्मेवारी पनि हो भन्ने कुरालाई पुनःस्थापित गरेको छ ।
उनको कार्यले स्पष्ट सन्देश दिन्छ-आवाजविहीन प्राणीहरूको रक्षा नै मानवीय सभ्यताको पहिचान हो।

